चन्द्र पन्तको निर्देशनमा निर्माण भएको बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा निर्माण पक्षले ‘सृष्टिकै पहिलो नाम’ बोलको भावुक गीत सार्वजनिक गर्दै दर्शकमाझ प्रस्तुत गरेको हो ।रवि ओडको सुमधुर स्वरमा सजिएको यस गीतमा लोकप्रिय संगीतकार बाबुल गिरीको शब्द तथा संगीत रहेको छ । गीतले आमाको निस्वार्थ माया, त्याग, समर्पण र छोराप्रतिको अटुट स्नेहलाई अत्यन्तै मर्मस्पर्शी ढंगले प्रस्तुत गरेको छ । गीत सुन्दा र हेर्दा जो–कोहीको मन छोइने खालको बनेको छ ।

गीतको भिडियोमा चर्चित अभिनेत्री विपना थापा, भारतीय अभिनेता प्रदीप रावत (गजनी भिलेन) र अभिनेता पल शाहलाई मुख्य भूमिकामा देख्न सकिन्छ । आमाको भूमिकामा देखिएकी विपना थापा छोराको यादमा पीडित र तड्पिरहेको अवस्थामा प्रस्तुत भएकी छन् भने पल शाह आमा–बुबाको खोजीमा भौतारिँदै भावनात्मक यात्रामा देखिन्छन् । गीतमार्फत नै फिल्मको मूल कथा आमा र छोराबीचको गहिरो सम्बन्धमा केन्द्रित रहेको स्पष्ट हुन्छ ।भिडियोमा साइग्रेस पोखरेल, सिम्रन पन्त र उषा उप्रेतीको समेत अभिनय देख्न सकिन्छ, जसले गीतलाई थप प्रभावशाली बनाएको छ ।

Bipana Thapa, Pradeep Rawat, Paul Shah

निर्देशक चन्द्र पन्त स्वयंको कथा तथा पटकथा रहेको यस फिल्ममा विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी, दीलिप उखेडा, रचना गौतमलगायत कलाकारहरूको पनि सशक्त अभिनय रहेको छ ।आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना रहेका छन् ।आगामी शहीद दिवसको सार्वजनिक विदा पारेर माघ १६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस फिल्ममा अमर न्यौपाने, अभिमन्यु निरवी र निर्देशक चन्द्र पन्तको संवाद लेखन रहेको छ । साथै नवराज उप्रेतीको छायांकन (डिओपी), साहिल खान र मिलन श्रेष्ठको सम्पादन, कोशिश क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत तथा गम्भीर विष्ट र दीलिप उखेडाको कोरियोग्राफी रहेको छ ।आमा र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘आ बाट आमा’ले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया