यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘पीआर’ को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक भएको छ। शोभित बस्नेतको निर्देशनमा तयार भएको यस फिल्मको प्रचार–प्रसारलाई थप तीव्र बनाउन निर्माण पक्षले गीतलाई भव्य रूपमा सार्वजनिक गरेको हो। गीत भन्दैमा मात्र नभई भिडियो समेत आकर्षक बनेको छ, जसले फिल्मप्रति दर्शकको रुचि अझै बढाएको देखिन्छ।सार्वजनिक भिडियोमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारी आकर्षक र रंगीन अवतारमा प्रस्तुत भएका छन्। गीतमा मानस राज को संगीत, मानस राज र समिक्षा अधिकारी को आवाज तथा निर्देशक शोभित बस्नेत को कोरियोग्राफी समावेश छ। गीत सलोमा युट्युब च्यानल मार्फत हेर्न सकिन्छ, जहाँ रिलिज भएको केही घण्टामै दर्शकको उल्लेखनीय प्रतिक्रिया आउन थालेको छ।
सलोन सलिना फिल्म्स को ब्यानरमा बनेको फिल्म ‘पीआर’ मा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डागी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा देखिनेछन्। यस्तै, नेपाली চলচ্চित्र क्षेत्रका अनुभवी कलाकार नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की विशेष भूमिकामा देखिने भएका छन्।प्रेम, संघर्ष र आप्रवासन जस्ता संवेदनशील विषयलाई केन्द्रमा राखेर तयार गरिएको फिल्म ‘पीआर’ को प्रस्तुति रञ्जित साह र सन्तोष तिवारी ले गरेका हुन्। निर्माण पक्षका अनुसार फिल्मले विदेश जाने नेपाली युवाको सपना, त्यस क्रममा आने चुनौतीहरू, पीडा, सामाजिक यथार्थ र भावनात्मक उतार–चढावलाई उठान गरेको छ।

फिल्मको लेखन गणेश बुढाथोकी, सम्पादन बन्दे प्रसाद, तथा छायांकन सौरभ सायमी र सौरभ लामा ले सम्हालेका छन्। फिल्मको वितरण आर आर फिल्म्स ले गरिरहेको छ। टाइटल गीत सार्वजनिकसँगै निर्देशक शोभित बस्नेतले फिल्मले रोमान्स, एक्सन र सामाजिक सन्देश को समिश्रणसहित दर्शकलाई नयाँ अनुभव दिने विश्वास व्यक्त गरेका छन्।
मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘पीआर’ लाई गीतको प्रभावले दर्शक बीच थप चर्चा तान्ने अपेक्षा गरिएको छ।






















