काठमाडौँ । गायक सविन गौतमको नयाँ दोहोरी गीत ‘चुन्नी तानम की’ शुक्रबार काठमाडौँमा सार्वजनिक गरिएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगरको प्रमुख आतिथ्यतामा तथा राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको आयोजनामा सम्पन्न विशेष समारोहमार्फत गीत सार्वजनिक गरिएको हो।शिव हमालको शब्द र प्रदिप अधिकारीको संगीतमा बनेको यो दोहोरीमा सविन गौतम र गायिका दिपिका बयम्बु मगरको सुमधुर स्वर सुन्न सकिन्छ। गीतसँगै सार्वजनिक गरिएको भिडियो दिपेन्द्र तिमिल्सीनाको निर्देशनमा तयार भएको हो भने भिडियोमा पुष्प खड्का र रजनी गुरुङ मुख्य भूमिकामा फिचर छन्। मौलिक स्वाद र भाकालाई जस्ताको तस्तै उतार्ने उद्देश्यले भिडियो पनि पूर्णरूपमा मौलिक शैलीमै तयार गरिएको निर्माण टिमले जानकारी गराएको छ। गीतलाई प्रदिप अधिकारीकै आधिकारिक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष रीता थापा मगरले मौलिक कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन सबै कलाकारको दायित्व भएको बताइन्। उनले भनिन्,
“मौलिक गीत गाएर, नाचेर पनि जीवन चलाउन सकिन्छ। कलाकारहरूले सीमा ननाघी, मौलिकताको बाटो समाते राम्रो हुन्छ। हिजो केही विकृति बोकेका गीतलाई सञ्चारकर्मीको आडमा प्रसय मिले पनि अब त्यस्ता प्रवृत्ति अन्त्य हुन्छ भन्ने विश्वास लिएको छु।”उनले गीत तथा सम्पूर्ण टिमलाई सफलताको शुभकामना दिइन्।कार्यक्रममा राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले ‘चुन्नी तानम की’ जस्तो सिर्जनाले नयाँ पुस्ताका सर्जक तथा कलाकारलाई मौलिकता जोगाउँदै अघि बढ्न प्रेरणा दिने बताए। साथै, गीतमा प्रयोग भएको शब्द, धुन र प्रस्तुति सबैले नेपाली लोकदोहोरीको पहिचानलाई बलियो बनाउने उनको भनाइ थियो।

सार्वजनिक कार्यक्रममा सर्जक शिव हमाल, एरेन्जर विनोद बाजुराली, निर्देशक दिपेन्द्र तिमिल्सीना, तथा मोडल रजनी गुरुङले गीत तथा भिडियो निर्माणसँग सम्बन्धित आफ्ना अनुभवहरू सुनाउँदै गीतले दर्शक–श्रोताको मन जित्ने विश्वास व्यक्त गरे।मौलिकता, संस्कृतिक संरक्षण तथा आधुनिक प्रस्तुतिको संयोजनमा तयार गरिएको ‘चुन्नी तानम की’ गीतले समकालीन लोकदोहोरी क्षेत्रमा नयाँ उत्साह थपेको छ।






















