मगर समुदायका युवाहरूको कला, संगीत र नृत्य प्रतिभा प्रदर्शनका लागि प्रतिक्षित कार्यक्रम ‘Magar’s Got Talent–2025’ को आठौं संस्करण आगामी नोभेम्बर ८, शनिबारका दिन लन्डनमा आयोजना हुने भएको छ।मगर संघ यूके (MAUK) अन्तर्गतको MAUK Magar Youth द्वारा आयोजना हुने यो कार्यक्रम लन्डनस्थित Springwest Academy, Browells Lane, TW13 7EF मा हुने तय गरिएको छ।
आयोजकका अनुसार कार्यक्रमका लागि ढोका दिउँसो १२ बजे खुल्नेछ भने मुख्य प्रस्तुति १ बजेबाट सुरु भई साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। यस वर्ष पनि कार्यक्रमले मगर समुदायका युवा–युवतीहरूको सृजनात्मकता, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई झनै उजागर गर्ने अपेक्षा गरिएको छ।

‘Magar’s Got Talent’ मगर समुदायभित्रको एक अत्यन्त लोकप्रिय वार्षिक प्रतिभा प्रदर्शन हो, जसले संगीत, नृत्य, अभिनय, कविता, चित्रकला लगायत विविध कला विधामा युवा पुस्तालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ।
यस कार्यक्रमलाई समुदायभित्रको एकता, सांस्कृतिक गर्व र मौलिकताको प्रतीकका रूपमा लिइन्छ।
कार्यक्रम तयारीबारे जानकारी दिँदै अध्यक्ष दीपक थापा ‘मैथाने मगर’ ले भने,“Magar’s Got Talent हाम्रो समुदायका युवाहरूका लागि प्रेरणादायी मञ्च हो। हरेक वर्ष नयाँ प्रतिभा देख्न पाउँदा गर्व लाग्छ। यस पटक हामीले अझ व्यवस्थित र आकर्षक कार्यक्रमको तयारी गरिरहेका छौं।”त्यसैगरी, वरिष्ठ उपाध्यक्ष करिश्मा थापा का अनुसार, “कार्यक्रमले युवाहरूको सिर्जनशीलता मात्र होइन, उनीहरूमा आत्मविश्वास र सांस्कृतिक गर्व पनि बढाउनेछ। हामीले सहभागीहरूलाई आफ्नो क्षमता देखाउन खुला अवसर दिएका छौं।”
महासचिव विपना थापा ले थपिन्, “यस वर्षको तयारी निकै उत्साहजनक छ। प्रतिभा दर्ता सुरु भइसकेको छ र सहभागी संख्या सन्तोषजनक रूपमा बढ्दै गएको छ। यसले हाम्रो समुदायका युवामा रहेको प्रतिभा र ऊर्जालाई स्पष्ट रूपमा देखाउँछ।”
त्यसैगरी, सांस्कृतिक सचिव दिलु थापा ले भनिन्,“हामीले यस वर्ष मगर परम्परा, संगीत र नृत्यको विविधता झल्काउने प्रस्तुतिहरू समावेश गर्ने योजना बनाएका छौं। कार्यक्रमले हाम्रो मौलिकता अझ उजागर गर्नेछ।” कार्यक्रममा बाल प्रतिभादेखि प्रौढ कलाकारसम्मका प्रस्तुतिहरू समावेश हुनेछन्। परम्परागत मगर नृत्य, लोकगीत, आधुनिक गायन, समूह नृत्य, वाद्यवादन, अभिनय र अन्य सृजनात्मक प्रस्तुति मार्फत सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन्।
त्यससँगै, समुदायका वरिष्ठ व्यक्तित्वहरू, स्थानीय अतिथि तथा ब्रिटिश–नेपाली समाजका प्रतिनिधिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
समुदायको गर्व र एकताको प्रतीक
लगातार आठौं संस्करणसम्म आइपुग्दा ‘Magar’s Got Talent’ मगर समुदायको सांस्कृतिक क्यालेन्डरको महत्वपूर्ण वार्षिक आकर्षणका रूपमा स्थापित भइसकेको छ।कार्यक्रमले विदेशमा रहेका नेपाली, विशेषतः मगर समुदायका परिवार, साथीभाइ र समर्थकहरूलाई एउटै छानामुनि भेला गराउँदै संस्कृति, कला र मनोरञ्जनको संगमको अनुभव प्रदान गर्दै आएको छ। समुदायमा फैलिँदै गएको सकारात्मक ऊर्जा र उत्साहले यस वर्षको कार्यक्रमलाई अझ भव्य र सफल बनाउने विश्वास लिइएको छ।
London Kathmandu News परिवारले आठौं ‘Magar’s Got Talent–2025’ को सफल आयोजनाका लागि MAUK Magar Youth र सम्पूर्ण सहभागीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछ।
कार्यक्रम विवरण
📅 मिति: शनिबार, ८ नोभेम्बर २०२५
📍 स्थान: Springwest Academy, Browells Lane, TW13 7EF (लन्डन)
⏰ ढोका खुल्ने समय: दिउँसो १२:०० बजे
🎤 मुख्य कार्यक्रम: १:०० बजे – ७:०० बजे
🏛️ आयोजक: MAUK Magar Youth






















