काठमाडौं । निर्देशक माओत्से गुरुङको निर्देशनमा बन्न लागेको दोस्रो नेपाली सिनेमा ‘पेन्सनपट्टा’ मा अभिनेता विश्वास गुरुङ र अभिनेत्री माया गुरुङ अनुबन्धित भएका छन्। यसअघि नै अभिनेता दयाहाङ राई मुख्य भूमिकामा तय भइसकेका थिए।गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास गुरुङले ‘जुनी जुनी’, ‘तिमी नभए’, ‘म्हो’, ‘कुटुम्बेरी साइनो’, फिच्योसिरसुवामा अभिनय गरेर चर्चित बनेका हुन्। अभिनेत्री माया गुरुङले भने ‘ह्युलै माया’, ‘च्यागी’ र *‘घलेक’*मा अभिनय गरिसकेकी छन्। दुवैले यसपटक पहिलोपटक नेपाली मेनस्ट्रिम सिनेमाबाट डेब्यु गर्न पाउँदा उत्साह व्यक्त गरेका छन्।

निर्देशक माओत्से गुरुङले फिल्मलाई गुरुङ सिनेमाका कलाकारको मेनस्ट्रिम प्रवेशका रुपमा व्याख्या गर्दै भने, “‘पेन्सनपट्टा’ बाह्य रुपमा लाहुरेको कथा जस्तो लाग्छ, तर यसको मूल भित्री कथा लोभी युवक कसरी दानी बन्न पुग्छ भन्ने हो।”कार्तिक महिनादेखि छायांकनमा जाने फिल्मको सम्पूर्ण शूटिङ पोखरा र आसपासका क्षेत्रमा हुनेछ। सिनेमाको छायांकन सुशन प्रजापतिले गर्नेछन् भने कास्टिङ डिरेक्टर सुरज तमु रहेका छन्। निर्माण व्यवस्थापनको जिम्मा डिबी गुरुङले सम्हाल्नेछन्।

‘माओत्से गुरुङ फिल्म्स’को ब्यानरमा निर्माण हुने यस सिनेमाको कथा स्वयं निर्देशक गुरुङले लेखेका हुन्। यसअघि गुरुङले निर्देशन गरेको पहिलो सिनेमा बक्सअफिसमा सफल भएको थियो। गुरुङ भाषाका चलचित्र निर्देशन गरेर चर्चित बनेका उनले पछिल्ला वर्षमा लेखन, निर्देशन र निर्माण सबै क्षेत्रमा सक्रियता बढाएका छन्। निर्माण टिमले अन्य कलाकारबारे जानकारी चाँडै सार्वजनिक गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया