काठमाडौं। तस्बिर आफैं बोल्छ, कहिलेकाहीँ तस्बिरले कथा सुनाउँछ। हालै सार्वजनिक गरिएको चलचित्र ‘मन बिनाको धन’ को फर्ष्ट लुक पोस्टरले दर्शकमाझ त्यस्तै अनुभूति दिलाएको छ। पोष्टरमा प्रस्तुत भाव भंगीले मानौँ कसैलाई आग्रह गर्दैछ – “मेरो कथा, मेरो बेथा सुन्नुहोस्” भन्ने सन्देश। यसै सन्देशसँगै दर्शकमाझ उत्साह थपिएको छ। कारण, यस चलचित्रको मुख्य भूमिकामा प्रस्तुत छन् नेपालका प्रिय बालगायक अशोक दर्जी। आफ्नो मधुर स्वरले करोडौं नेपालीलाई मन्त्रमुग्ध बनाइसकेका दर्जीलाई दर्शकले अब ठूलो पर्दामा अभिनयमार्फत देख्न पाउने भएका छन्।

चलचित्र कार्तिक २१ गतेदेखि देशभर प्रदर्शनमा आउने आधिकारिक जानकारी निर्देशक टंक बुढाथोकी ले दिएका छन्।चलचित्रमा अशोक दर्जीसँगै नेपाली चलचित्रका चर्चित कलाकारहरू सरोज खनाल, निता ढुंगाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रबिन्द्र झा, भोला सापकोटा, रमेश बुढाथोकी, बिना राउत, रक्षा श्रेष्ठ, सन्तोष पन्त, रमेश थपलिया लगायतका कलाकारको दमदार अभिनय रहनेछ। यसले चलचित्रलाई अझै आकर्षक र दर्शकमैत्री बनाउने अपेक्षा गरिएको छ।चलचित्रको छायांकन अनुभवी सिनेमाटोग्राफर नवराज उप्रेती र सौरभ लामा ले गरेका हुन्। उनीहरूको क्यामेरामा उतारिएका दृश्यले चलचित्रलाई फरक स्तरमा पुर्याउने विश्वास गरिएको छ।
निर्माता बिष्णु माया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा को नाम रहेको छ। यस्तै, जी.पी. संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्माता बनेका छन्।विशेषताः निर्देशक मात्र नभई लेखक तथा संगीतकारको रूपमा पनि टंक बुढाथोकी नै प्रस्तुत भएका छन्। उनका शब्द र धुनमा यसअघि नै अशोक दर्जीले गाएका गीतहरूले व्यापक चर्चा कमाइसकेकाले, दर्शकलाई यस चलचित्रका गीत–संगीतप्रति पनि विशेष आकांक्षा रहने निश्चित छ।

गायकको रूपमा मन माटोमा बोकेकै हुन्। अब उनी अभिनेताको रूपमा पनि कति सफल हुन्छन् भन्ने उत्सुकता थपिएको छ। पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चलचित्रबारे चर्चा बढेको छ। धेरै दर्शकले “गायकको भावपूर्ण आवाज जस्तै, उनको अभिनय पनि हृदय छुने होला” भन्ने विश्वास व्यक्त गरेका छन्।यसरी, ‘मन बिनाको धन’ ले आफ्नो फर्ष्ट लुकमार्फतै दर्शकमाझ गहिरो संदेश र भावनात्मक स्पर्श पुर्याएको छ। बालगायक अशोक दर्जीको जीवनकै नयाँ अध्यायसहित प्रस्तुत हुने यो चलचित्रले नेपाली फिल्म उद्योगमा नयाँ ऊर्जा थप्नेमा शंका छैन। कार्तिक २१ बाट प्रदर्शनमा आउँदै गरेको यस चलचित्रले कस्तो प्रभाव पार्छ भन्ने प्रतीक्षामा अब सम्पूर्ण दर्शक छन्।






















