नेपाली चलचित्र उद्योगमा डेढ दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएकी अभिनेत्री आशा भुषाल आज नेपाली सिनेप्रेमीहरूका लागि परिचित मात्र नभई प्रिय अनुहारसमेत बनेकी छिन्। आफ्नो मेहनत, समर्पण र कलात्मक क्षमताले उनले चलचित्र, टेलिसिरियल तथा म्युजिक भिडियो क्षेत्रमा समान रूपमा उत्कृष्टता देखाउँदै दर्शकमाझ छुट्टै पहिचान बनाउन सफल भएकी छिन्।
सिन्धुलीमा जन्मिएकी र हाल ललितपुरमा बसोबास गर्दै आएकी आशाले कलाक्षेत्रलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाएर अघि बढेकी छिन्। उनले अभिनय यात्राको सुरुवात चलचित्र ‘दुश्मनी’ बाट गरेकी थिइन्। यही चलचित्रमार्फत उनले नेपाली फिल्म क्षेत्रमा आफ्नो पाइला टेकेकी हुन्।आशा भुषालले आफ्नो सुरुवाती दिनदेखि नै अभिनयमा गहिरो लगाव देखाएकी थिइन्। उनले ‘समर्पण’, ‘सुनपानी’, ‘झिगैडाउ’, ‘उपहार’, ‘लभ इज लाइफ’ जस्ता चलचित्रमा अभिनय गर्दै आफूलाई सशक्त र सक्षम अभिनेत्रीका रूपमा स्थापित गरिन्। यी चलचित्रहरूले उनलाई दर्शक र समीक्षक दुवैको मन जित्न मद्दत गरे।
पछिल्लो केही वर्षयता उनले चलचित्रसँगै टेलिसिरियल र म्युजिक भिडियो क्षेत्रमा पनि आफ्नो प्रतिभा देखाइरहेकी छिन्। विभिन्न म्युजिक भिडियोहरूमा उनको दमदार उपस्थिति दर्शकलाई लोभ्याउने खालको रहेको छ। त्यस्तै, नेपाली टेलिसिरियल ‘मेरो बास्सै’ मा उनले गरेको अभिनयलाई दर्शकहरूले अत्यन्तै मन पराएका छन्।उनको निरन्तरता र उत्कृष्टताले गर्दा उनले हालसालै चौथो काव्य म्युजिक अवार्ड मा ‘बेस्ट टेलिसिरियल’ श्रेणीमा ‘मेरो बास्सै’ बाट अवार्ड जित्न सफल भइन्। यो अवार्डले उनको करिअरलाई अझ मजबुत बनाएको छ भने उनी टेलिसिरियल क्षेत्रमा पनि उतिकै सशक्त अभिनेत्रीका रूपमा स्थापित भएकी छिन्।
भिनेत्री आशा भुषालको यात्रा एक प्रेरणादायी कथा हो। सानो ठाउँबाट सुरुवात गरेर उनले चलचित्रदेखि टेलिसिरियलसम्मको क्षेत्रमा आफ्नो बलियो स्थान बनाउन सफल भएकी छिन्। निरन्तरता, लगनशीलता र कलाप्रतिको प्रेमकै कारण उनी नेपाली कलाक्षेत्रको एक चम्किलो नाम बन्न सक्षम भएकी छिन्।






















