काठमाडौं । बहुप्रतिक्षित चलचित्र **‘माइतीघर’**को ट्रेलरले सार्वजनिक भएको केही घण्टामै युट्युब र टिकटकमा तहल्का मच्चाएको छ । आउँदो फूलपाती अर्थात् असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आउन लागिरहेको यस चलचित्रको ट्रेलरले दर्शकमाझ उत्साहजनक प्रतिक्रिया पाएको छ ।

आज (बिहीबार) दिउँसो ४ बजे सार्वजनिक गरिएको ट्रेलरले केवल ४ घण्टामै युट्युबको ‘मुभि चार्ट’मा पाँचौँ स्थानमा ट्रेण्डिङमा पर्न सफल भएको हो । यसले चलचित्रप्रति दर्शकमाझको चासो र अपेक्षालाई झनै उच्च बनाएको छ ।युट्युबसँगै छोटकरी भिडियो प्लेटफर्म टिकटकमा पनि ‘माइतीघर’को ट्रेलरले अप्रत्याशित भ्युज बटुलेको छ । चार घण्टाको अवधिमै टिकटकमा ३० लाखभन्दा बढी पटक हेर्न पुगेको छ । यसले ट्रेलरमात्रै नभई चलचित्र रिलिजपछि पनि दर्शकको ठूलो भीड हलसम्म तान्ने संकेत दिएको छ ।

त्रिकोणात्मक प्रेमकथा र कमेडीको मिश्रण

चलचित्रको ट्रेलरमा धिरज मगर, प्रकाश सपूत र उपासना सिंह ठकुरीबीचको त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ । तर, केवल प्रेमकथामात्र नभई, हल्का–फुल्का हास्यव्यंग्य र मनोरञ्जनात्मक शैलीमा समेत चलचित्र तयार भएको संकेत ट्रेलरमार्फत पाइन्छ ।

यसमा विशेष गरी **केदार घिमिरे (माग्ने बूढा)**को अभिनयले दर्शकलाई हसाउने पर्याप्त सामग्री दिने देखिन्छ । उनका हाँस्य संवाद र प्रस्तुतीकरणले चलचित्रलाई थप रमाइलो बनाउने विश्वास निर्देशक मिलन तामाङले व्यक्त गरेका छन् ।

MAITIGHAR | Movie Official Trailer 2025 | Dhiraj Magar, Upasana Singh, Shyama Shree, Kedar, Prakash

चलचित्र **रोहित अधिकारी फिल्म्स प्रा.लि.**को व्यानरमा निर्माण गरिएको हो । निर्देशक मिलन तामाङको निर्देशनमा बनेको यस चलचित्रमा धिरज, उपासना र प्रकाशसँगै श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देललगायतका चर्चित कलाकारहरूको दमदार अभिनय रहेको छ ।

दशैंमा प्रदर्शन

दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने ‘माइतीघर’लाई नेपाली चलचित्र बजारले बहुप्रतिक्षित प्रोजेक्टका रूपमा हेरिरहेको छ । युट्युब र टिकटकमा देखिएको प्रारम्भिक उत्साहले चलचित्रले रिलिजपछिको व्यापारमा पनि सकारात्मक प्रभाव पार्ने प्रबल सम्भावना देखिएको छ ।यसरी, चार घण्टामै युट्युब र टिकटकमा तहल्का मच्चाएको ट्रेलरले ‘माइतीघर’लाई यस वर्षकै चर्चित चलचित्रको सूचीमा राख्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया