काठमाडौं । नेपाली फिल्म उद्योगमा दशैंको फूलपाती अर्थात् असोज १३ गते ठूलो भिडन्त हुने भएको छ । यस दिन बहुचर्चित तीन नेपाली चलचित्र माईतीघर, हरिबहादुरको जुत्ता र बलिदान सार्वजनिक हुँदै गर्दा अब ‘अभिमन्यु : च्याप्टर १’ पनि त्यही दिन प्रदर्शनमा आउने भएको छ ।![]()
निर्माण कम्पनी सेभेन सिज नेपालले विज्ञप्ति जारी गर्दै भदौ २७ गते रिलिज गर्ने तयारी भए पनि देशको तत्कालीन परिस्थितिका कारण प्रदर्शन स्थगित गरिएको र अहिले भने नयाँ मिति तोकिएको जानकारी दिएको छ । कम्पनीले नेपाली फिल्म उद्योगलाई गतिशील बनाउन सकारात्मक दृष्टिकोणका साथ फूलपातीको दिनदेखि देशभर र विश्वव्यापी रूपमा फिल्म रिलिज गरिने जनाएको छ ।हिन्दी संस्करण भने असोज १७ गतेदेखि भारतसहित विश्वव्यापी रूपमा रिलिज हुनेछ ।

निर्माता विनोद पौडेलका अनुसार फिल्मलाई भदौ २७ कै लागि प्रचार–प्रसारमा ठूलो लगानी भइसकेकाले लामो समय पर्खन नसकिने अवस्था थियो । “हामी कसैसँग जुध्ने वा जुधाउने उद्देश्यले होइन, परिस्थितिको कारण असोज १३ मा आएका हौँ,” पौडेलले बताए ।फिल्म ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देलको प्रमुख भूमिका रहेको छ । फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् भने क्रिएटिभ निर्देशक मदन थापा र लेखक मुकेश खनाल रहेका छन् ।यसैबीच, चलचित्रको प्रचार–प्रसारमा विभेद गरिएको भन्दै केही मिडियाले आपत्ति जनाएका छन् । उनीहरूका अनुसार फिल्मसँग नजिक रहेका केही संस्थामार्फत मात्र विज्ञापन प्रवाह गरिएको छ भने अन्य स्थापित मिडियालाई बेवास्ता गरिएको छ । यसले फिल्मको दर्शक पाउने सम्भावनामा असर पार्न सक्ने अनुमान गरिएको छ ।
अब भने दशैंको फूलपातीमा एकैपटक चार नेपाली फिल्म रिलिज हुने भएपछि बक्स अफिसमा कडा प्रतिस्पर्धा हुने निश्चित भएको छ । ठूलो बजेट र स्टारकास्टसहित तयार भएका यी फिल्ममध्ये कुनले दर्शकको मन जित्ने हो, त्यो भने समयले नै बताउनेछ ।






















