काठमाडौं । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको बहुप्रतिक्षित चलचित्र ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले एकैसाथ दुईवटा पोस्टर र पहिलो झलक सार्वजनिक गर्दै चलचित्रप्रति दर्शकको चासो झनै बढाइदिएको छ ।सार्वजनिक पोस्टरमध्ये एउटा पोस्टरमा मुख्य कलाकार दयाहाङ राई र विजय बराल मात्र देखिएका छन् । रातो सुट र सर्ट–पाइन्टमा ठाँटिएका दयाहाङ हातमा मोबाइल बोकेर क्रुद्ध मुद्रामा देखिएका छन् भने विजय भने निराश र सोचमग्न भावमा प्रस्तुत छन् ।Image

दोस्रो पोस्टरमा भने दयाहाङ र विजयसँगै समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरी फिचर्ड छन् । उनीहरूलाई आफ्ना-आफ्ना क्यारेक्टरमा देखाइएको छ, जसले चलचित्रको कथा र पात्रबारे थप कौतुहलता सिर्जना गरेको छ ।

त्यस्तै, सार्वजनिक टिजरमा दयाहाङ र विजयबीचको नोकझोक प्रस्तुत गरिएको छ, जसले कथाको रोचकता मात्र होइन, चलचित्रप्रतिको उत्सुकता पनि बढाएको छ ।‘वरिष्ठ बलराम’ आगामी कात्तिक ६ गते भाइटीकाको दिनदेखि देशभर प्रदर्शनमा आउँदैछ । पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको यस चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायतका कलाकारको दमदार अभिनय रहनेछ ।यो चलचित्र निर्देशक सुरेन्द्र पौडेलको चौथो निर्देशकीय प्रस्तुति हो । दृश्य सम्पादक समेत रहेका पौडेलले यसअघि ‘आभाष’, ‘क्रृ’‘बाबरी’ निर्देशन गरिसकेका छन् । निर्देशककै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा र आन्भी फिल्मसको सहकार्यमा निर्माण भएको फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् । प्रदीप जि धामी र पुस्कर बि घिमिरे कार्यकारी निर्माता हुन् ।सामाजिक कथावस्तुमा आधारित यो चलचित्रको छायांकन चितवनका विभिन्न रमणीय स्थानमा गरिएको हो । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, तारानाथ न्यौपाने मुख्य सहायक निर्देशन, प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन र प्रदीप लामोको नृत्य निर्देशन रहेको छ ।चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएनले र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया