खोटाङ कलाकार समाजले निर्माण गरेको सामूहिक गीत ‘मुस्कुराउछ सधै भरी मेरो खोटाङ’ सार्वजनिक गरिएको छ । खोटाङको सांस्कृतिक पहिचान र स्थानीय गौरवलाई गीतमार्फत उजागर गर्ने उद्देश्यसहित तयार पारिएको उक्त गीतमा एक सय एघार जना खोटाङेली कलाकारहरूको स्वर समावेश गरिएको छ, जुन आफैंमा एक अद्वितीय प्रयासका रूपमा लिइएको छ ।गीतमा चर्चित गीतकार टंक भट्टराईको शब्द रहेको छ भने बरिष्ठ संगीतकार महेश खड्काले संगीत दिएका छन् । गीतलाई आकर्षक बनाउन संगीत संयोजन (एरेन्ज) देबेश राईले गरेका छन् । साथै, रेकर्डिङको काम लिम्दुमि क्रियशन स्टुडियोमा सम्पन्न गरिएको हो ।
https://www.youtube.com/watch?v=dO8DSawrRyoम्युजिक भिडियोलाई हालका ब्यस्त तथा चर्चित निर्देशक राजेश पुमा राईले निर्देशन गरेका छन् । भिडियोमार्फत खोटाङका सुन्दर भौगोलिक दृश्य, सांस्कृतिक झल्को तथा स्थानीय जीवनशैलीलाई समेत कलात्मक ढंगले प्रस्तुत गरिएको छ । यसले खोटाङलाई अझ नजिकबाट चिनाउने विश्वास गरिएको छ ।गीतको निर्माणमा स्थानीय तहको उल्लेख्य सहयोग रहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य प्रायोजन, साथै खोटेहाङ गाउँपालिका र ऐशलुखर्क गाउँपालिकाको आर्थिक सहयोग प्राप्त भएको खोटाङ कलाकार समाजका महासचिव **पार्वन राई ‘राई बुढा’**ले जानकारी दिएका छन् ।
खोटाङ कलाकार समाजले यसअघि पनि विविध सांस्कृतिक गतिविधि, नाटक, नृत्य तथा गीत–संगीतमार्फत स्थानीय कला, संस्कृति र पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्दै आएको छ । समाजका पदाधिकारीहरूले यस गीतले खोटाङबासी मात्र नभई सम्पूर्ण नेपाली समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।सार्वजनिक गरिएको गीतले खोटाङका कलाकारहरूको सामूहिक क्षमता, एकता र सिर्जनात्मकतालाई प्रतिनिधित्व गरेको छ । समाजले आगामी दिनमा पनि यस किसिमका सांगीतिक परियोजना निरन्तर अघि बढाउने जनाएको छ ।






















