रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको बहुप्रतिक्षित चलचित्र ‘माइतीघर’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। सञ्जिवनीको स्वरमा रेकर्ड गरिएको ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको यस गीतमा किरण खरेलको शब्द र स्व. जयदेवको संगीत रहेको छ। यही गीतको ओर्जिनल भर्सनमा भारतकी चर्चित गायिका आशा भोस्लेको स्वर प्रयोग भएको थियो।निर्माता रोहित अधिकारी र उनकी टिमले पुरानो चर्चित गीतलाई पुनः नयाँ प्रस्तुतिमा बजारमा ल्याएका हुन्। दशैंको फूलपाती अर्थात् असोज १३ गते बाट चलचित्र प्रदर्शनमा आउन लागेको छ।
गीतको भिडियोमा नायिका उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको नृत्य देख्न सकिन्छ। कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको यस भिडियोमा लोकेशनको छनोट र दृश्यको सौन्दर्यले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।विशेषत: गीत सार्वजनिकसँगै निर्माण पक्षले दर्शकलाई सहभागी गराउने उद्देश्यले भिडियो प्रतियोगिता समेत घोषणा गरेको छ। ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो निर्माण गर्ने सहभागीहरुमध्ये एक जना उत्कृष्ट दर्शकलाई ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने घोषणा चलचित्रका प्रस्तुतकर्ता रोहित अधिकारीले गरेका छन्।

मिलन तामाङको निर्देशनमा बनेको यस चलचित्रमा रबिन शेरचन र धिरज तामाङले लगानी गरेका छन्। ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेका चलचित्रमा रामशरण पाठकको कथा/लेखन छ।कलाकार सूचीमा केदार प्रसाद घिमिरे (माग्नेबुढा), धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगिता थापा लगायतका कलाकारको अभिनय समावेश छ।दशैंमा रिलिज हुने भएकाले चलचित्र ‘माइतीघर’ ले दर्शकमाझ ठूलो उत्साह जगाएको छ भने गीतको सार्वजनिकसँगै यसप्रति थप आकर्षण बढेको छ।






















