काठमाडौं – बहुप्रतिक्षित फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक गरिएको ट्रेलरले मुख्य पात्रहरूबारे रोचक झलक प्रस्तुत गर्दै चलचित्रको कथा र वातावरणबारे उत्सुकता थपिदिएको छ।क्राइम–थ्रिलर जनरामा तयार भएको यो चलचित्रमा मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरासिया रहेका छन्। ट्रेलरले उनको चरित्रलाई निकै गहिरो र रहस्यमयी रूपमा प्रस्तुत गरेको देखिन्छ। साथै, फिल्ममा लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरी, प्रकाश दाहाल, किरण श्रेष्ठ, सुष्मा निरौला र शिशिर वाङ्देल लगायतका कलाकारहरूको दमदार उपस्थिति देख्न सकिन्छ।
फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् भने कथा तथा पटकथा मुकेश खनालले लेखेका हुन्। सेभेन सिज सिनेमाको प्रस्तुति रहेको चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन्।निर्माताको दाबी अनुसार चलचित्रले अपराध, रहस्य र मानवीय भावनालाई एकसाथ प्रस्तुत गर्नेछ। विशेषगरी कामेश्वर चौरासियाको अभिनयले कथालाई अझै बलियो बनाउने अपेक्षा गरिएको छ।
‘अभिमन्यु’ भदौ २७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारी छ भने यसको हिन्दी संस्करण असोज ६ गतेदेखि भारतसहित अन्य मुलुकमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षले बनाएको छ। यसले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास समेत गरिएको छ। यसअघि सार्वजनिक गरिएको पोस्टर र टिजरमै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका थिए। अब ट्रेलर सार्वजनिकसँगै चलचित्रप्रतिको प्रतिक्षा झनै उच्च बनेको छ।






















