काठमाडौं । बहुप्रतिक्षित नेपाली फिल्म ‘माइतीघर’ को टाइटल गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो’ को पोस्टर सार्वजनिक भएपछि दर्शकमाझ उत्साह थपिएको छ । गीत सार्वजनिक हुनु अघि नै फिल्मप्रेमीहरूमा काउकुती लागेको देखिएको छ ।निर्माता रोहित अधिकारी का अनुसार टाइटल गीत अर्को हप्ताको शुक्रबार सार्वजनिक गरिनेछ । गीतको छायांकनमा मात्र करिब १० दिन समय र मोटो रकम खर्च भएको बताइएको छ । चर्चित नृत्य निर्देशक कबिराज गहतराज को कोरियोग्राफीमा बनेको यस गीतलाई नेपालको रमणीय स्थानमा फिल्माइएको छ, जसले पुरानो लोकप्रिय गीत–भिडियोको झल्को दिने अपेक्षा गरिएको छ ।
‘रोहित अधिकारी फिल्म्स’ को ब्यानरमा बनेको फिल्मलाई मिलन तामाङ ले निर्देशन गरेका हुन् । फिल्मको कथा चन्द्रकुमार दोङ को हो भने पटकथा तथा संवाद रामशरण पाठक ले तयार पारेका छन् । यसमा रविन शेरचन र धिरज तामाङ को संयुक्त लगानी रहेको छ ।फिल्मको छायांकनमा सुशन प्रजापति, सम्पादनमा सुरेन्द्र पौडेल, गीतमा किरण खरेल, कुमार स्याङ्बा र राम अविरल, संगीतमा चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्व. जयदेव, एक्सन निर्देशनमा अष्ट महर्जन लगायत अनुभवी प्राविधिकहरूको साथ रहेको छ ।
यस चलचित्रमा केदार घिमिरे (माग्ने बुढा), धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम र संगीता थापा लगायतका चर्चित कलाकारको अभिनय रहेको छ ।‘माइतीघर’ को मूल कथा तामाङ समुदायको संस्कृतिमा आधारित छ । संस्कृतिको सुन्दर झल्को, सामाजिक कथा र समकालीन भावनात्मक प्रस्तुतीकरणसहित फिल्मलाई विशेष बनाइएको निर्माण पक्षले जनाएको छ ।निर्माता रोहित अधिकारीले फिल्मलाई दशैंको उपहारको रूपमा प्रस्तुत गरिएको बताउँदै भने, “दर्शकले यसलाई मन पराउनेमा हामी विश्वस्त छौँ । आगामी असोज १३ गते (दशैंको फूलपाती) बाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘माइतीघर’लाई यस वर्षकै चर्चित र सफल फिल्मका रूपमा हेर्ने अपेक्षा गरिएको छ ।






















