बेलायतमा २४ अगस्ट २०२५ का दिन आयोजना हुने १६औं नेपाली मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक तमुधीं यूकेले जनाएको छ ।। तमुधीं यूकेले आइतबार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै मेलासम्बन्धी विस्तृत जानकारी दिएको हो ।यस पटकको मेलामा नेपालका चर्चित कलाकारहरूको दमदार प्रस्तुति रहनेछ । विशेषत: चर्चित गायक कलाकार आश्रम गुरुङले सांगीतिक प्रस्तुति दिने भएका छन् । साथै, अन्य ख्यातिप्राप्त गायक–गायिका, नृत्य समूह र सांस्कृतिक टोलीहरूले पनि मनोरञ्जनात्मक प्रस्तुति दिने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
नेपाली दूतावास बेलायतको सहकार्यमा आयोजना हुने यो भव्य मेला केम्पटन पार्क रेस कोर्समा हुने भएको हो । मेला संयोजक तथा संस्थाका उपाध्यक्ष कमल कोने गुरुङका अनुसार मेलाको अनुमानित खर्च झण्डै ५१ हजार पाउण्ड रहनेछ ।मेलामा विभिन्न जातजाति र संघसंस्थाबाट प्रतिनिधित्व हुने झाँकी, लोकसंगीत, सांस्कृतिक नृत्य, हस्तकला प्रदर्शन, परम्परागत भेषभूषा र परिकारहरू प्रस्तुत गरिनेछन् । नेपाली परिकार र च्यारिटीलाई लक्षित गर्दै करिब ७० वटा स्टल रहनेछ भने, मेलामा बालबालिकादेखि वृद्धसम्मका लागि छुट्टाछुट्टै आकर्षणका कार्यक्रम पनि राखिनेछ ।आयोजकले दिएको जानकारीअनुसार मेलाको उद्घाटन कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि रहनेछन् भने नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा उज्यालो नेपाल अभियन्ता कुलमान घिसिङ विशेष अतिथिका रूपमा सहभागी हुनेछन् ।
संस्थाका अध्यक्ष जुमकाजी गुरुङले गत वर्ष आयोजित गोर्खा कप फुटबल प्रतियोगिताबाट संकलित रकमको १० प्रतिशत नेपालमा लमजुङ जिल्लामा च्यारिटी कार्यका लागि सहयोग गरिएको जानकारी दिएका छन् । उहाँका अनुसार यसपालि पनि मेलाबाट आम्दानी बचत भएमा नेपालमै च्यारिटी कार्यमा सहयोग गरिनेछ ।१६औं नेपाली मेला केवल मनोरञ्जन र भेटघाटको अवसर मात्र नभई, बेलायतमा बसोबास गर्ने नेपाली समुदायबीच सांस्कृतिक, सामाजिक र भावनात्मक एकताको प्रतीकका रूपमा रहेको आयोजकहरूको भनाइ छ । नेपाली संस्कृतिको पहिचानलाई अझ बलियो बनाउने उद्देश्यसहित यसपटकको मेला सम्पन्न गर्न आयोजकहरूले सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् ।






















