भारतमा रहेर पनि नेपाली कला, संस्कृति र संगीतलाई निरन्तर अँगाल्दै आएका कलाकार प्रकाश नेपाली, नेपाली गीत–संगीत क्षेत्रका एक समर्पित र कुशल कलाकार हुन्। जाजरकोटको जुनिचादे–५, गर्खाकोटका बासिन्दा प्रकाश नेपाली आमा कस्तुरी नेपाली र बाबा तिर्थ बहादुर नेपालीको कोखबाट जन्मिएका हुन्। लामो समयदेखि रोजगारीको सिलसिलामा भारतमा रहँदै आएका उनी, त्यही बाटो हुँदै नेपाली गीत–संगीतको पहिचानलाई जोगाउँदै र अगाडि बढाउँदै आएका छन्।
यसपटक हरितालिका तीजको अवसर पारेर उनले भारतबाटै नयाँ तीज गीत ‘मकै बारीमा’ सार्बजनिक गरेका छन्। गीतको शीर्षक सुन्दा धेरैलाई केही समयअघि निकै चर्चित बनेको ‘मकै बारी द्रयम दर्यम’ सम्झन आउन सक्छ। यद्यपि, यो गीत सोही टिमको नभए पनि ‘मकै’ शब्द नै हालका गीतहरूमा लोकप्रिय र दर्शक–श्रोतालाई आकर्षित गर्ने ट्रेन्ड भएको देखिन्छ। यही कारणले पनि ‘मकै बारीमा’ बोलको यस गीतले बिस्तारै चर्चा कमाउँदै गएको छ।गीतमा स्वर गायक हरि बहादुर नेपाली र गायिका अञ्जु विश्वकर्माले दिएका छन्। गायक हरि बहादुर नेपाली र प्रकाश नेपाली दाजुभाइ हुन्। दुवै परदेशमा रहेर पनि नेपाली कला, साहित्य र संगीतलाई सम्मान गर्दै, आफ्नै कमाइको केही हिस्सा यस क्षेत्रमा लगानी गर्दै आएका छन्।
शब्द, संगीत गायक हरि बहादुर नेपालीकै रहेको यस गीतको भिडियोमा निर्देशन राजेश देवकोटा, छायांकन मुकेश परियार, सम्पादन लक्की विश्वकर्मा र कोरियोग्राफी पनि राजेश देवकोटाकै रहेको छ। भिडियोमा कलाकार प्रकाश नेपाली र सपना पर्जाको नृत्य तथा अभिनय प्रस्तुत गरिएको छ। उनीहरूको प्रस्तुति, भाव र तालमेलले भिडियोको सौन्दर्यलाई अझ बढाइदिएको छ।गायक हरि बहादुर नेपालीको नाम नै नेपाली लोकगीत–संगीत क्षेत्रमा छुट्टै स्थान राख्छ। उनले परदेशमा रहेर पनि धेरै गीतमा आफ्नो स्वर दिइसकेका छन् र स्रोता–दर्शकमाझ प्रेम र सम्मान कमाउन सफल भएका छन्। ‘मकै बारीमा’ गीतलाई पनि उनले आफ्नै शैलीमा सजाएका छन्, जसमा गायिका अञ्जु विश्वकर्माको स्वरले थप मिठास भरेको छ।
‘मकै बारीमा’ बोलको यो तीज गीत मान सिङ खड्का युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो। गीतले नेपाली तीजको उल्लास मात्र होइन, परदेशमा बसेर पनि आफ्नो माटोप्रति कलाकारको माया र प्रतिबद्धता कस्तो हुन्छ भन्ने कुरा स्पष्ट रुपमा दर्शाएको छ।यस गीतसँगै प्रकाश नेपाली र हरि बहादुर नेपालीले फेरि एकपटक प्रमाणित गरेका छन्—स्थान र दूरीले कला र संस्कृतिको प्रेमलाई कहिल्यै रोक्न सक्दैन। परदेशको भूमिबाट उठेको यो नेपाली धुन, स्वदेशका कान–मनमा गुञ्जिरहेकै छ।






















