अमेरिका स्थित नेपाली समुदायका लागि आगामी शनिबार, अगस्ट १६ का दिन विशेष अवसरको रूपमा रहन गएको छ। क्यापिटल थियटरमा चर्चित नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ पुनः प्रदर्शन हुने भएको हो। फिल्मको सुरुवात बेलुकी ठिक ४ बजे तय गरिएको छ भने दर्शक र आगन्तुक पाहुनालाई ३:१५ बजेदेखि उपस्थित हुन आयोजकले अनुरोध गरेका छन्।निर्धारित समयअघि उपस्थित हुने दर्शकहरूलाई चलचित्रका मुख्य कलाकार र निर्माण टिमसँग भेटघाट, शुभकामना आदान–प्रदान तथा चियापान ग्रहर्ण गर्ने अवसर मिल्नेछ। कार्यक्रममा नायिका आयुषा समाल, निर्देशक मित्र प्रधान, नारायण प्रधान लगायत अन्य कलाकारहरूको उपस्थिति रहनेछ । दर्शकहरूले स्वादिष्ट नेपाली परिकारहरूको मज्जा लिँदै ४ बजे फिल्म अवलोकन गर्नेछन्।यसअघि अमेरिकामा दुई पटक सफलतापूर्वक प्रदर्शन भइसकेको ‘यो मन त मेरो नेपाली हो’ लगातारको मागका कारण अब तेस्रो पटक प्रदर्शनमा आउन लागेको हो।
अमेरिका बाहेक जापान, हङकङ, कोरिया लगायतका मुलुकमा पनि फिल्म प्रदर्शनको तयारी भइरहेको छ। निर्माण टिमका अनुसार विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीहरूले यस चलचित्रप्रतिको चासो र माग उच्च भएको कारण यो फिल्मलाई विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजना समेत बनिसकेको छ र अन्य देशहरुमा पनि यो चलचित्र प्रदशन गर्न आग्रह गरेको समचार खुल्नमा आएको छ निर्देशक मित्र प्रधानका अनुसार, *‘यो मन त मेरो नेपाली हो’*को लोकप्रियताको मुख्य कारण यसको नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धनमा दिएको योगदान हो। विशेषगरी विदेशमा रहेका युवापुस्ताले आफ्नो पहिचान र संस्कृतिप्रतिको गर्वका साथ यसलाई “हेर्नै पर्ने नेपाली चलचित्र”को सूचीमा राखेका छन्।मनोरञ्जनसँगै यस फिल्मले आफ्नो जन्मभूमिप्रतिको माया, भाषा र संस्कृतिप्रतिको गर्व, र विदेशमा बस्ने नेपाली मनको गहिरो भावनालाई पर्दामा उतार्ने सफल प्रयास गरेको छ। विदेशको भूमिमा नेपाली पहिचान र आत्मसम्मानलाई जीवित राख्ने यस खालको सिर्जनात्मक प्रस्तुति दर्शकको मनमस्तिष्कमा दीर्घकालीन छाप छाडेको देखिन्छ।फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल र बुद्धि तामाङको दमदार अभिनयले कथालाई जीवन्त बनाएको छ। पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्मित यस फिल्मका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् भने कथा र निर्देशन **मित्र प्रधान (नर)**ले गरेका हुन्। पटकथा तथा संवाद शिवम अधिकारीले तयार गरेका हुन् |






















