धम्पुस परिवार यूकेको १७औं वार्षिक भेटघाट कार्यक्रम यस वर्ष २०२५ अगस्ट १६ तारिख, शनिबारका दिन लन्डनको अल्डरसटस्थित एम्पायर हलमा भव्य रुपमा सम्पन्न हुने भएको छ। दिनको १२ बजेदेखि राति १० बजेसम्म संचालन हुने यो सांस्कृतिक तथा सामाजिक कार्यक्रम यूकेमा रहेका धम्पुसबासीहरूबीचको भेटघाट, भाईचारा र एकताको उत्कृष्ट उदाहरणका रूपमा स्थापित हुँदै आएको छ।

कार्यक्रमलाई विशेष बनाउँदै यस वर्ष लोकप्रिय लोकगायिका पवित्रा गुरुङ र चर्चित नृत्याङ्गना आरुसी मगरले आफ्नो सांगीतिक तथा नृत्य प्रस्तुतिमार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन दिनेछन्। कार्यक्रमले नेपालमा मौलिक कला, संस्कृति र परम्परालाई प्रवासमा समेत जगेर्ना गर्ने लक्ष्य बोकेको छ।धम्पुस परिवार यूकेको अध्यक्ष कुमार गुरुङका अनुसार, “यो कार्यक्रम हरेक वर्ष आयोजित गरिंदै आएको छ जसले धम्पुसबासीबीच आत्मीयता, सौहार्द र परस्पर सहकार्यको भावना अझ मजबुत बनाउने काम गर्छ। साथै, यसले हाम्रो नेपालीपन, भाषा, संस्कृति र पहिचानलाई सन्तानमा हस्तान्तरण गर्न मद्दत पुर्‍याइरहेको छ।”

अध्यक्ष गुरुङले यूकेभरि रहेका सम्पूर्ण धम्पुसवासी बुबाआमा, दाजुभाइ, दिदीबहिनी, चेलीबेटी, ज्वाइँ, भान्जा-भान्जी तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सपरिवार उपस्थित भई “गाउँले भेटघाट” लाई थप भव्य र सफल बनाउन हार्दिक निमन्त्रणा गरेका छन्। कार्यक्रममा मनोरञ्जनका साथै नेपाली परिकार, सामूहिक फोटोसेसन, खेलकुद गतिविधि, बालबालिकाका प्रस्तुति, र फन एक्टिभिटीहरू पनि समावेश गरिनेछ। बिगतका वर्षहरूमा झैँ यस पटक पनि कार्यक्रमले समुदायभित्र आपसी सम्बन्ध प्रगाढ बनाउन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

धम्पुस परिवार यूकेको यस्तो साझा मञ्चले न केवल विदेशमा नेपाली समुदायबीचको आत्मीयता बलियो बनाउने काम गर्छ, तर नयाँ पुस्तालाई पनि आफ्नो जरा, संस्कृति र पहिचानप्रति गर्व गर्न अभिप्रेरित बनाउँछ।

कार्यक्रम विवरण:

  • मिति: अगस्ट १६, २०२५ (शनिबार)

  • समय: दिउँसो १२ बजे देखि राति १० बजे सम्म

  • स्थान: एम्पायर हल, अल्डरसट, लन्डन

  • प्रस्तुति: पवित्रा गुरुङ (गायन), आरुसी मगर (नृत्य)

  • आयोजक: धम्पुस परिवार यूके

यो कार्यक्रम नेपाली समुदायमा एकताको सन्देश फैलाउने सशक्त माध्यम बन्ने निश्चित देखिन्छ। कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया