ठमाडौं – दर्शकको मन जित्न आएका एकपछि अर्को नेपाली फिल्ममध्ये, आगामी दशैंमा दर्शकको विशेष रोजाइ बन्ने अपेक्षा गरिएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ दशैंको फूलपातीका दिन (अशोज १२ गते)देखि देशभर प्रदर्शनमा आउने भएको छ। चर्चित अभिनेता तथा परिकल्पनाकार हरिवंश आचार्यको प्रमुख भूमिका रहेको यो चलचित्रलाई अनुभवी निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेका छन्।
चलचित्रका परिकल्पनाकार तथा नायक हरिवंश आचार्यले ‘हरिबहादुरको जुत्ता’ एकदम सहज र सन्तुलित रुपमा निर्माण भएको बताएका छन्। उनी भन्छन्, ‘निर्देशक दीपेन्द्र के. खनालको नेतृत्वमा हाम्रो टिमले एकदम सहज ढंगले छायांकन सम्पन्न गर्यौं। राम्रो स्क्रिप्ट, समर्पित टिम र अनुभवी कलाकारले गर्दा हामीले अपेक्षा गरेभन्दा उत्कृष्ट परिणाम निकाल्न सकेका छौं।
चलचित्र एसएम मोशन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो। निर्माता सरोज ओली र मोहित वंश आचार्यको लगानीमा बनेको फिल्मले नेपाली समाजमा हाँसो, व्यंग्य र सामाजिक सन्देशलाई मिसाएर दर्शकलाई मनोरञ्जन दिने लक्ष्य राखेको छ।चलचित्रमा नेपाली हास्य तथा नाट्य क्षेत्रका चर्चित कलाकारहरूको जमघट देख्न पाइनेछ। प्रमुख भूमिकामा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, राजाराम पौडेल, किरण केसी, हरिहर शर्मा, पार्वती अधिकारी, दिव्यदेव पन्त, तारा शर्मा, दिनेश काफ्ले, र सिता न्यौपानेजस्ता चर्चित अनुहार रहेका छन्। यस्तो कलाकार संयोजनले चलचित्रको आकर्षण अझ बढाएको छ।
चलचित्रको नाम सुन्दा लाग्न सक्छ, कथा हल्का हास्यप्रधान छ। तर निर्देशक खनालको दृष्टिकोणले गर्दा चलचित्र केवल हाँसोमा सीमित छैन, यसले समाजमा भइरहेका विसंगति, अन्याय र मानवीय संवेदना पनि चित्रण गर्नेछ। निर्देशकका अनुसार, ‘हरिबहादुरको जुत्ता’ एक साधारण पात्रको असाधारण यात्राको कथा हो, जहाँ एउटा सानो वस्तुले समेत कसरी ठूलो प्रभाव पार्न सक्छ भन्ने सन्देश दिइएको छ।






















