बहुप्रतीक्षित नेपाली फिल्म ‘माइतीघर’को छायांकन यतिबेला अन्तिम चरणमा छ । शुभसाइत पूजापछि छायांकन थालिएको यस फिल्मको सेटबाट अहिले मुख्य कलाकार धीरज मगर र हास्य अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को लुक्स सार्वजनिक भएको छ । सार्वजनिक तस्बिरमा अभिनेता धीरज मगर मोटरसाइकल चलाउँदै छन् भने उनको अनुहारमा रिस र आक्रोशको भाव स्पष्ट देखिन्छ । मोटरसाइकलमा धिरजको पछाडि बसेका माग्ने बुढा भने अत्तालिएको अवस्थामा छन् ।
यसअघि माग्ने बुढाको विभिन्न २ ओटा लुक्स सार्वजनीक भएको थियो । जसका कारण कथा कस्तो होला भन्ने कौतुहलता थपिएको थियो भने हाल सार्वजनीक तस्विरले फिल्मको कथामा महत्वपूर्ण मोड ल्याउने अनुमान गरिएको छ ।यो फिल्ममा धीरज मगर, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ सँगै प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतका चर्चित कलाकारहरूको अभिनय रहनेछ ।

मिलन तामाङले निर्देशन गरिरहेको यस फिल्मको छायांकन सुसन प्रजापतिले गर्दैछन् । रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ निर्माताका रूपमा छन् ।यता संगीततर्फ पनि कुनै कन्जुस्याइँ गरिएको छैन । बलिउडकी प्रख्यात गायिका संजीवनीले फिल्मको शीर्ष गीतमा आवाज दिएकी छिन् । यो गीत नेपाली फिल्मकै इतिहासमा सफल मानिएको पुरानो ‘माइतीघर’ फिल्मको कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ…’ को नयाँ संस्करण हो । सो गीतमा जयदेवको संगीत, किरण खरेलको शब्द र रिकेश गुरुङको एरेन्जमेन्ट रहेको छ । पारिवारिक सम्बन्ध र संवेदनाको कथावस्तुमा आधारित यो फिल्म आउँदो दशैंको फूलपातीमा प्रदर्शन हुने तयारीमा छ ।























