काठमाडौँ। तीजका गीतमा छुट्टै पहिचान बनाउन सफल गायक तथा प्रफर्मर दुर्गेश थापाले यस वर्षको हरितालिका तीजलाई लक्षित गर्दै सार्वजनिक गरेको नयाँ सांगीतिक कोसेली ‘बीच्च बीच्चमा २.०’ ले युट्युबमा सांगीतिक तहल्का मच्चाएको छ। आफ्नो अत्यधिक चर्चित र भाइरल तीज गीत ‘बीच्च बीच्चमा’को नयाँ सिरिजका रूपमा ल्याइएको यस गीतले बजारमा आउनासाथ दर्शकको अपार माया र अभूतपूर्व समर्थन बटुल्न सफल भएको हो।गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युबमा १२ लाखभन्दा बढी (१.२ मिलियन) पटक हेरिएर कीर्तिमान रचेको छ। यो समाचार तयार पार्दासम्म भिडिओ नेपालको युट्युब ओभरअल ट्रेन्डिङको शीर्ष स्थान (नम्बर १) मा कब्जा जमाउन सफल भएको छ भने म्युजिक ट्रेन्डिङतर्फ ५ औँ स्थान ओगटेको छ।

यस ऐतिहासिक र द्रुत सफलतापछि भावुक हुँदै प्रतिक्रिया दिएका गायक दुर्गेश थापाले सफलताको सम्पूर्ण श्रेय आफ्ना प्रिय दर्शक तथा श्रोताहरूलाई समर्पित गरेका छन्। उनले भनेका छन्, “तपाईंहरूको माया, साथ र अतुलनीय समर्थनले नै यो असम्भव देखिने सफलता सम्भव भएको हो। यो केवल मेरो वा मेरो टिमको सफलता होइन, यो त सम्पूर्ण दर्शकहरूको मायाको जित हो।”

अघिल्ला वर्षहरूझैं यसपटक पनि पुरुषहरूले तीजको अवसरमा खुलेर नाच्न, गाउन र पारिवारिक माहोलमा रमाइलो गर्न पाउनुपर्छ भन्ने मूल विषयवस्तुलाई गीतले उठान गरेको छ। दुर्गेश थापाकै शब्द तथा सङ्गीत सिर्जना रहेको यस गीतमा गायनतर्फ उनलाई चर्चित गायिका बेनिशा पौडेल र बबिना किरातीले सुमधुर स्वरमा सशक्त साथ दिएका छन्।

ट्रेन्डिङको शीर्ष स्थानमा दुर्गेशको ‘बीच्च बीच्चमा २.०’

यसपटक गीतको अडियो मात्र नभई भिडिओमा पनि नितान्त नयाँ, भव्य र फरक दृश्य प्रयोग गरिएको छ। चर्चित कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीको निर्देशन र कोरियोग्राफीमा तयार पारिएको यस भिडिओमा दक्षिण भारतीय (साउथ) फिल्मका गीतहरूको जस्तै ऊर्जावान् नृत्यशैली, आकर्षक सेट र धमाकेदार प्रस्तुति देख्न सकिन्छ।

भिडिओ सार्वजनिक भएपछि दर्शकहरूले यसमा साउथ र हिन्दी पप गीतहरूको शैली तथा प्रभाव रहेको प्रतिक्रिया दिइरहेका छन्। दर्शकको यो कौतुहलतालाई प्रस्ट पार्दै गीत विमोचन कार्यक्रममा दुर्गेशले भने, “तीजको समयमा हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू हिन्दी गीतमा रमाइलो गर्दै नाचेको देखेपछि मलाई आफ्नै मौलिक भाषामै त्यस्तै भव्य र सांगीतिक स्वादको गीत बनाउने प्रेरणा मिलेको हो। हिन्दी र साउथ गीतको त्यो उधुम क्रेजलाई नेपाली भाषामै पस्कने मेरो यो सानो प्रयास मात्र हो।”

दृश्य-भिडिओमा दुर्गेश थापासँगै मोडलहरू स्मारिका ढकाल, करिश्मा केसी र ‘गुराँस नानी’ को दमदार तथा आकर्षक नृत्य हेर्न पाइन्छ। भिडिओको अन्त्यमा दर्शकका लागि एउटा विशेष ‘सरप्राइज’ दृश्य समेत समावेश गरिएको छ, जहाँ दुर्गेशले आफ्ना प्यारा छोरालाई निकै आकर्षक र भावुक ढंगले पर्दामा फिचर्ड गरेका छन्।

दुर्गेश थापाको आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत बजारमा आएको यो नयाँ शैली र नयाँ प्रस्तुतिको गीतले यतिबेला क्लब, पार्टी र सामाजिक सञ्जाल (टिकटक तथा रिल्स) मा व्यापक कब्जा जमाइसकेको छ। फरक स्वाद र भव्य भिडिओसहित आएको यो सांगीतिक कोसेलीले यस वर्षको तीजमा देशभरका श्रोता-दर्शकलाई भरपुर मनोरञ्जन दिने र विगतका सबै रेकर्ड तोड्ने पक्का देखिएको छ।

तपाईको प्रतिक्रिया