सुमधुर स्वरकी धनी गायिका तृप्ति खड्का गुरुङ र गायक लिला गौतमको संयुक्त आवाजमा सजिएको नयाँ नेपाली गीत “तिमी हिँड्ने बाटो” बजारमा आएको छ। लामो समयदेखि प्रतिक्षा गरिएको यो लभ-सङ (रोमान्टिक गीत) लाई भर्खरै डिजिटल प्लेटफर्ममार्फत स्रोता तथा दर्शकमाझ सार्वजनिक गरिएको हो।सार्वजनिक गीतमा विजय गुरुङको जीवन्त शब्द सिर्जना रहेको छ भने गायिका तृप्ति खड्का गुरुङ आफैँले यसमा न्यायपूर्ण संगीत भरेकी छिन्। गीतलाई लोकप्रिय संगीत संयोजक नरेश पाण्डेले एरेन्ज तथा मिक्सिङ/मास्टरिङ गरेर थप सुमधुर बनाएका हुन्। यो गीतको सम्पूर्ण रेकर्डिङ कार्य ‘सारेगम स्टुडियो’मा गरिएको हो।
भिडियोमा विजय र निर्जराको केमेस्ट्री
अडियो जत्तिकै उत्कृष्ट यस गीतको भिडियो पनि निकै भव्य र आकर्षक बनेको छ। गीतका गीतकार समेत रहेका विजय गुरुङ आफैँले यस भिडियोको निर्देशन गरेका हुन्। भिडियोमा विजय गुरुङ र उदयमान मोडल निर्जरा केसी मुख्य भूमिकामा प्रस्तुत भएका छन्। भिडियोमा उनीहरूको केमेस्ट्री र अभिनयलाई दर्शकले निकै रुचाउने अपेक्षा गरिएको छ।
भिडियोलाई उत्कृष्ट बनाउन प्राविधिक टिमले ठुलो मिहिनेत गरेको छ। प्रकाश खड्का र टाम्सले क्यामरा तथा ड्रोनमार्फत नेपाली प्रकृतिका सुन्दर दृश्यहरू कैद गरेका छन् भने लक्ष्मण खड्का, लोकेश ओली, सिरिश खड्का र प्रशान्त केसीले लाइट व्यवस्थापन सम्हालेका छन्। भिडियोको दृश्य सम्पादन, रङ संयोजन (Color Grading) र आकर्षक पोस्टर आर्टको काम मिलन विश्वकर्माले गरेका हुन्।प्रेमभावले भरिएको र उत्कृष्ट मेकिङ रहेको “तिमी हिँड्ने बाटो” ले नेपाली सुगम संगीतको बजारमा राम्रो स्थान पाउने विश्वास निर्माण टिमले लिएको छ।






















