धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले गुरु गोरखनाथ एकै परिवारको आयोजनामा पुरुषोत्तम मास माहात्म्य कथा वाचन तथा पवित्र कलश यात्रा आयोजना हुने भएको छ।आयोजकका अनुसार कार्यक्रम २०८२ जेठ ३० गतेदेखि ३१ गते हुँदै असार १ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको स्थल काठमाडौंको बालाजु २२ धारा परिसर तोकिएको छ।कार्यक्रममा प्रसिद्ध कथावाचक देवान्ताचार्य शालिग्राम सापकोटा ले पुरुषोत्तम मासको धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक महत्वबारे प्रवचन दिनेछन्। कथा वाचनमार्फत सनातन धर्मका मूल्य–मान्यता, भक्ति, सदाचार तथा मानव जीवनका सकारात्मक पक्षबारे श्रद्धालुहरूलाई ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।विशेषगरी पुरुषोत्तम मासलाई हिन्दू धर्ममा अत्यन्त पुण्यदायी र पवित्र महिनाका रूपमा लिइन्छ। यस अवधिमा गरिने पूजा, पाठ, दान, जप तथा धार्मिक अनुष्ठानले आध्यात्मिक उन्नति र पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

कार्यक्रमअन्तर्गत भव्य कलश यात्रा समेत आयोजना गरिनेछ। आयोजकले सम्पूर्ण धर्मप्रेमी, श्रद्धालु तथा स्थानीय बासिन्दाहरूलाई कलश यात्रामा सहभागी भई धर्म, संस्कृति र सामाजिक सद्भावको संरक्षणमा योगदान पुर्याउन आग्रह गरेको छ।
आयोजकको भनाइअनुसार कथा वाचन तथा कलश यात्राले धार्मिक आस्था मात्र नभई समाजमा एकता, सद्भाव, नैतिकता र सकारात्मक सोचको विकास गर्न समेत महत्वपूर्ण भूमिका खेल्नेछ। कार्यक्रममा सहभागी भएर आध्यात्मिक ज्ञान हासिल गर्न, भक्ति भाव बढाउन तथा समाजमा सकारात्मक सन्देश फैलाउन सबैलाई अनुरोध गरिएको छ।
“आफू पनि पवित्र बनौँ, समाजमा सद्भाव फैलाऔँ” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस धार्मिक महोत्सवले श्रद्धालुहरूलाई आध्यात्मिक ऊर्जा, भक्ति र संस्कृतिसँग जोड्ने विश्वास आयोजकले व्यक्त गरेको छ।






















