चलचित्र ‘प्युरी’ को चितवन प्रदर्शन ऐतिहासिक रूपमा सफल, दर्शकको अपार मायाप्रति निर्देशक उमेश गुरुङ लगाएत सम्पूर्ण कलाकार निर्माता तथा ‘प्युरी’ का परिवार द्वारा धन्यवादनेपाली चलचित्र ‘प्युरी’ ले प्रदर्शनको क्रममा दर्शकबाट उत्साहजनक साथ पाउँदै नयाँ सफलता हासिल गरेको छ। यही जेठ २३ गते नारायणगढस्थित इन्द्रदेव चलचित्र मन्दिरमा आयोजित विशेष प्रदर्शन अत्यन्तै सफल रूपमा सम्पन्न भएको निर्माण टिमले जनाएको छ।चलचित्रप्रति दर्शकको आकर्षण यति धेरै देखिएको थियो कि हलमा अत्यधिक भीडका कारण केही दर्शकहरूले सिट नपाएपछि उभिएर तथा सिँढी र उपलब्ध अन्य स्थानमा बसेर समेत चलचित्र हेरेका थिए।
प्रदर्शनका क्रममा देखिएको दर्शकको उत्साह र सहभागिताले निर्माण टिमलाई थप हौसला प्रदान गरेको बताइएको छ।चलचित्रका निर्देशक उमेश गुरुङले दर्शकप्रति आभार व्यक्त गर्दै यो सफलता सम्पूर्ण दर्शक, शुभेच्छुक तथा सहयोगीहरूको साझा उपलब्धि भएको बताएका छन्।उनले भने, “दर्शकहरूबाट प्राप्त भएको अपार माया, विश्वास र साथप्रति हामी अत्यन्तै कृतज्ञ छौँ। हलमा देखिएको उत्साहले हामीलाई थप जिम्मेवार र उत्साहित बनाएको छ। चलचित्र ‘प्युरी’लाई यति धेरै माया गरिदिनुहुने सम्पूर्ण भगवानरूपी दर्शकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।”निर्देशक गुरुङले विशेषगरी चितवनवासी दर्शक, आफन्त, शुभेच्छुक तथा चलचित्रप्रेमीहरूलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गरेका छन्। उनका अनुसार दर्शकको सकारात्मक प्रतिक्रिया र समर्थनले चलचित्रको आगामी यात्रालाई थप उत्साहजनक बनाएको छ।निर्माण टिमले चलचित्र ‘प्युरी’ अब चाँडै पोखरा, लमजुङ लगायतका विभिन्न स्थानहरूमा पनि प्रदर्शन गरिने जानकारी दिएको छ। चितवनमा प्राप्त सफलतापछि अन्य जिल्लाका दर्शकमाझ पनि चलचित्रप्रति उत्सुकता बढेको निर्माण पक्षको विश्वास छ।नेपाली समाज, संस्कृति र जीवनका विविध पक्षलाई समेटेर निर्माण गरिएको चलचित्र ‘प्युरी’ले प्रदर्शनसँगै दर्शकको मन जित्न सफल भएको प्रतिक्रिया प्राप्त भइरहेको छ। निर्माण टिमले आगामी प्रदर्शनहरू पनि सफल हुने अपेक्षा व्यक्त गरेको छ।चितवनमा प्राप्त दर्शकको मायाले ‘प्युरी’लाई अझ व्यापक रूपमा दर्शकमाझ पुर्याउने प्रेरणा दिएको भन्दै निर्माण पक्षले आगामी दिनमा पनि यस्तै साथ र समर्थनको अपेक्षा गरेको छ।





















