काठमाडौं — नेपाली चलचित्र उद्योगमा पछिल्लो समय चर्चामा रहेको चलचित्र ‘कुम्भ’ दोस्रो हप्तामा प्रवेश गर्दा पनि दर्शकको राम्रो साथ पाइरहेको छ। जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आएको यस चलचित्रले सीमित शो र प्रचार–प्रसारका बाबजुद दर्शकको सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको निर्माण टिमले जनाएको छ।चलचित्रका निर्माता तथा कलाकारहरूका अनुसार ‘कुम्भ’ हेर्न चाहने दर्शकको संख्या उल्लेखनीय भए पनि धेरै चलचित्र हलहरूले अपेक्षाअनुसार शो उपलब्ध नगराएको गुनासो आएको छ। सामाजिक सञ्जालमा समेत धेरै दर्शकले फिल्म हेर्न चाहँदा शो नपाएको अनुभव सार्वजनिक गरिरहेका छन्।निर्माण टिमको भनाइमा चलचित्रले दर्शकको माया पाइरहे पनि पर्याप्त शो नपाउँदा धेरै सम्भावित दर्शक हलसम्म पुग्न नसकेको अवस्था देखिएको छ। त्यति मात्र होइन, चलचित्रले मिडियाबाट पनि अपेक्षाअनुसार साथ र प्राथमिकता नपाएको गुनासो निर्माण पक्षले व्यक्त गरेको छ।यद्यपि, जहाँ–जहाँ चलचित्र प्रदर्शन भइरहेको छ, त्यहाँ दर्शकको उपस्थिति उत्साहजनक रहेको बताइएको छ। केही हलहरूमा दोस्रो हप्तासम्म पनि शो हाउसफुल भएको जानकारी निर्माण टिमले दिएको छ। यसले चलचित्रप्रति दर्शकको आकर्षण बढ्दै गएको संकेत गरेको उनीहरूको दाबी छ।

दर्शकको माग र सकारात्मक प्रतिक्रियालाई मध्यनजर गर्दै अब अन्य हलहरूमा पनि शो थप्ने विषयमा छलफल भइरहेको निर्माण पक्षले जनाएको छ। चलचित्रप्रति दर्शकको बढ्दो चासोले आगामी दिनमा थप हल र शो प्राप्त हुनेमा आफूहरू आशावादी रहेको निर्देशक तथा निर्माण टिमको विश्वास छ।चलचित्र ‘कुम्भ’को अर्को विशेषता भनेको यसलाई नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन गर्ने तयारी गरिएको हो। हाल नेपाली संस्करण प्रदर्शन भइरहेको छ भने निकट भविष्यमा हिन्दी संस्करण पनि दर्शकमाझ ल्याइने निर्माण टिमले जानकारी दिएको छ।एक्सन–ड्रामामा आधारित ‘कुम्भ’मा अभिनेता अशोक आर्यन, सुनील थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ। साथै दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको पनि महत्वपूर्ण भूमिका रहेको बताइएको छ।चलचित्रका लेखक तथा निर्देशक रणधीर श्रेष्ठ हुन्। गीतका शब्द पनि उनैले लेखेका छन् भने संगीत अनुप तिवारीले दिएका छन्। ए रस प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको चलचित्रको छायांकन नेपाल तथा दक्षिण भारतका विभिन्न रमणीय स्थानहरूमा गरिएको छ।फिल्मको छायांकन तथा सम्पादन स्वयं निर्देशक रणधीर श्रेष्ठले गरेका हुन् भने द्वन्द्व निर्देशन संजय थापाको रहेको छ। चलचित्रका निर्मातामा रणधीर श्रेष्ठ र राजेश साह रहेका छन् भने कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन्।एक्सन, रोमान्स, संघर्ष र मनोरञ्जनको समिश्रण बोकेको ‘कुम्भ’ले नयाँ तथा अनुभवी कलाकारहरूको संयोजनमार्फत दर्शकलाई फरक स्वाद दिने प्रयास गरेको छ। सीमित शोका बीच पनि दर्शकको साथ पाइरहेको यस चलचित्रले आगामी दिनमा अझ व्यापक दर्शकसम्म पुग्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।निर्माण पक्षको भनाइमा, “दर्शकले दिनुभएको माया र साथ नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो। यही समर्थनले ‘कुम्भ’लाई अझ अगाडि बढाउनेछ।”





















