काठमाडौं । नेपाली लोकसङ्गीत क्षेत्रमा नयाँ अनुहारका रूपमा उदाएकी नृत्याङ्गना तथा मोडल अस्मिता बुढा मगर यतिबेला चर्चामा छिन् । रोल्पा जिल्लामा २०६० साल पौष ६ गते बुवा कुमार बुढा मगर र आमा धनमाया बुढा मगरको कोखबाट जन्मिएकी अस्मिताले पहिलो पटक अभिनय गरेको म्युजिक भिडियोबाटै दर्शकको मन जित्न सफल भएकी हुन् ।काठमाडौंलाई कर्मथलो बनाएर गीत–सङ्गीत क्षेत्रमा सक्रिय रहँदै आएकी अस्मिताले अभिनय गरेको नयाँ मौलिक लोकगीत रानी फूलैमा सार्वजनिक भएसँगै उनको अभिनय, नृत्य र प्रस्तुतिको चर्चा बढ्न थालेको छ । भिडियोमा उनले गाउँले परिवेश, नेपाली मौलिकता र प्रेमभावलाई स्वाभाविक ढंगले प्रस्तुत गरेकी छन्, जसले दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
गीतमा नीता थापा मगर, सुनिता थापा मगर, कमल घर्ती मगर र दीपक घर्ती मगर को स्वर रहेको छ । सिद्धार्थ आले मगर र कमल घर्ती मगरको शब्द रहेको गीतमा कमल घर्ती मगरकै सङ्गीत रहेको छ भने सङ्गीत संयोजन दीपक घर्ती मगरले गरेका हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ रुबिन मगरले गरेका छन् भने किरण आले मगरले रेकर्ड गरेको गीत आरोह स्टुडियोमा तयार पारिएको हो ।भिडियोको निर्देशन तथा कोरियोग्राफी चर्चित निर्देशक स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी हुन् । भिडियोमा अजय पुन मगर, अस्मिता बुढा मगर, दीपक घर्ती मगर र पुष्पा सेन्चुरीको अभिनय देख्न सकिन्छ । सुमित तामाङको छायाङ्कन तथा मिराज अर्यालको सम्पादन र रङ संयोजन रहेको भिडियोले नेपाली संस्कृति, भेषभूषा र मौलिकतालाई आकर्षक रूपमा प्रस्तुत गरेको छ ।दीपक घर्ती मगर को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘रानी फूलैमा’ छोटो समयमै दर्शकमाझ लोकप्रिय बन्दै गएको छ । रीमा फिल्म्सले पोस्ट–प्रोडक्सन गरेको भिडियोमा अनमेष गुरुङको शृङ्गार रहेको छ ।पहिलो मोडलिङ अनुभवमै अस्मिता बुढा मगरले देखाएको आत्मविश्वास, अभिनय र नृत्य कौशलले उनलाई नेपाली लोकसङ्गीत क्षेत्रमा सम्भावनायुक्त नयाँ कलाकारका रूपमा स्थापित गराउने अपेक्षा गरिएको छ ।























