काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय सार्वजनिक भएको नयाँ गीत ‘सधैँ तिमी’ यतिबेला दर्शक तथा श्रोतामाझ चर्चामा आउन थालेको छ । गायिका तथा मिडियाकर्मी सरिता भारती र चर्चित गायक यम बरालको सुमधुर स्वरमा सजिएको यस गीतले सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया बटुलिरहेको हो । प्रेमभावमा आधारित गीतले आधुनिक प्रेम सम्बन्धका भावनात्मक उतारचढावलाई सरल र जीवन्त शैलीमा प्रस्तुत गरेको भन्दै दर्शकहरूले रुचाएका छन् ।गीतकार डब्बु क्षत्रीको शब्द तथा निर्देशनमा तयार भएको ‘सधैँ तिमी’ गीतमा प्रेम, भावनात्मक सम्बन्ध, मायामा आउने उतारचढाव र प्रेमी–प्रेमिकाबीचको नोकझोकलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । गीतले विशेषगरी प्रेम सम्बन्धमा देखिने रिस, मनाउने शैली, सम्झना र आत्मीयतालाई समेटेको छ, जसले युवा पुस्तालाई अझ बढी आकर्षित गरेको देखिन्छ ।
गीतमा चर्चित संगीतकार ओम सुनारको संगीत तथा संगीत संयोजन रहेको छ । गीतको शब्द, संगीत र स्वरको संयोजनले गीतलाई थप मिठास दिएको दर्शकहरूको प्रतिक्रिया छ । यम बरालको अनुभवी गायन र सरिता भारतीको कोमल तथा भावपूर्ण स्वरले गीतलाई विशेष बनाएको छ ।पछिल्लो समय सञ्चार क्षेत्रसँगै सांगीतिक क्षेत्रमा समेत सक्रिय रहेकी सरिता भारतीले यस गीतमार्फत आफू गायनमा पनि उत्तिकै सक्षम रहेको प्रमाणित गरेको चर्चा भइरहेको छ । मिडियाकर्मीको रूपमा पहिचान बनाएकी भारतीले गीतमा प्रस्तुत गरेको भावनात्मक अभिव्यक्तिलाई दर्शकले प्रशंसा गरेका छन् ।सार्वजनिक गीतको भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । भिडियोमा प्रेमी–प्रेमिकाबीच हुने सामान्य नोकझोक, एकअर्काप्रतिको प्रेम, मनोभाव र सम्बन्धको संवेदनशील पक्षलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । भिडियोमा गायिका सरिता भारती स्वयं मोडलको रूपमा प्रस्तुत भएकी छन् भने अभिनेता प्रवण भुसालसँग उनको जोडी आकर्षक देखिएको छ । दुवै कलाकारको अभिनय र अभिव्यक्तिले भिडियोमा जीवन्तता थपेको दर्शकको प्रतिक्रिया छ ।
विशेष कुरा के छ भने, गीतको भिडियो नेपालभन्दा बाहिर बंगलादेशको पर्यटकीय क्षेत्र बोगुरामा छायांकन गरिएको हो । बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने क्रममा गीतकार तथा निर्देशक डब्बु क्षत्रीले त्यही अवसरलाई उपयोग गर्दै भिडियो छायांकन गरिएको जानकारी दिएका छन् । विदेशी लोकेसन, प्राकृतिक दृश्य र कलात्मक दृश्य संयोजनका कारण भिडियो अझ आकर्षक बनेको छ ।भिडियो निर्माण पक्ष पनि निकै सशक्त देखिन्छ । विलक्षण क्रियसनको प्रस्तुतिमा निर्माण गरिएको भिडियोमा बंगलादेशी छायांकार सरकार सुजनको छायांकन रहेको छ । त्यस्तै अजय दास र जियाद खन्डोकरले ड्रोन प्रयोगमार्फत दृश्यलाई भव्यता दिएका छन् । भिडियोको सम्पादन वीरेन्द्र भाट ‘विपिन’ले गरेका हुन् भने ग्राफिक्सको काम लोकेस भाटले सम्हालेका छन् । गीतका निर्माता युविका बुढाथोकी हुन् ।गीतकार डब्बु क्षत्रीका अनुसार ‘सधैँ तिमी’मा नेपाली मौलिकता झल्काउने प्रयास गरिएको छ । गीतमा झर्रा तथा ठेट नेपाली शब्दहरूको प्रयोग गरिएको बताउँदै उनले नेपाली लोकलयलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्ने प्रयास गरिएको जानकारी दिए । “हामीले गीतमा नेपालीपन हराउन नदिने प्रयास गरेका छौं । लोक स्वाद र आधुनिक भावनालाई सँगै राखेर गीत तयार गरेका हौं,” क्षत्रीले बताए । गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि राम्रो प्रतिक्रिया आउन थालेको छ । विशेषगरी गीतको शब्द चयन, भावपूर्ण संगीत र भिडियोको लोकेसनलाई दर्शकले रुचाएका छन् । प्रेममा आधारित गीत भएकाले युवा पुस्तामाझ यसको लोकप्रियता बढ्दै गएको देखिन्छ । एसबि क्रिएसनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘सधैँ तिमी’ले छोटो समयमै दर्शकको ध्यान खिच्न सफल भएको छ । गीतको लोकप्रियता दिनप्रतिदिन बढ्दै जाँदा यसले नेपाली संगीत क्षेत्रमा थप सफलता हासिल गर्ने अपेक्षा गरिएको छ ।






















