काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अनुभवी निर्देशक निर शाह नयाँ चलचित्र ‘कमला मिस’मार्फत पुनः निर्देशनमा फर्किएका छन् । करिब एक दशकपछि निर्देशनमा सक्रिय भएका शाहको नयाँ चलचित्र साउन २२ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको छ ।चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता बढेको छ । सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिना लाई विशेष मनोवैज्ञानिक भावभंगिमामा प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथावस्तु रहस्यमय, संवेदनशील र गहिरो हुने संकेत दिएको छ । निर्माण टिमले चलचित्रको अफिसियल टिजर यही बिहीबार सार्वजनिक गर्ने जनाएको छ ।

मनोवैज्ञानिक कथामा आधारित ‘कमला मिस’मा निर्देशक शाह स्वयंको अभिनयसमेत रहेको छ । चलचित्रमा रमेश बुढाथोकी, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी तथा संजय खतिवडा लगायत कलाकारहरूको अभिनय रहेको छ ।विजय मल्ल स्मृति प्रतिष्ठान का लागि उमा मल्ल ले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् । विजय मल्लको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद निर्देशक निर शाह र प्रजल दुलाल ले संयुक्त रूपमा तयार पारेका हुन् ।चलचित्रमा शिवराम श्रेष्ठ को छायांकन, युग भुसाल को संगीत तथा रामजी लामिछाने को कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुवेदी ले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा रहेका छन् ।निर्देशक निर शाहले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन् । त्यसैले ‘कमला मिस’लाई उनको अनुभव, सिर्जनशीलता र नयाँ शैलीको प्रस्तुति भएको चलचित्रका रूपमा हेरिएको छ ।एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनी ले वितरण गर्ने चलचित्र ‘कमला मिस’ले नेपाली दर्शकमाझ फरक स्वादको मनोवैज्ञानिक कथा प्रस्तुत गर्ने निर्माण पक्षको विश्वास रहेको छ ।






















