वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गुरु आमा’ अहिले देशभर चर्चाको केन्द्र बनेको छ । प्रदर्शनको छैटौँ दिनसम्म आइपुग्दा पनि चलचित्रले अधिकांश सिनेमा हलमा हाउसफुल व्यापार गरिरहेको छ । विशेषगरी विद्यार्थी, शिक्षक तथा अभिभावकमाझ फिल्मको प्रभाव उल्लेखनीय रूपमा देखिएको छ ।सिनेमा हलहरूमा दर्शकको भीड दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ भने फिल्म हेरेपछि धेरै दर्शक भावुक हुँदै आँसु पुछ्दै हलबाट बाहिरिने दृश्य अहिले सामान्यजस्तै बनेको छ । बालबालिकादेखि अभिभावकसम्मलाई भावुक बनाइरहेको ‘गुरु आमा’ ले नेपाली चलचित्र क्षेत्रमा नयाँ तरंग सिर्जना गरेको चर्चा भइरहेको छ ।

फिल्मले विशेषगरी विद्यार्थीहरूको मन छोएको बताइएको छ । शिक्षा, अनुशासन, गुरु–शिष्य सम्बन्ध र जीवनका वास्तविक पक्षलाई मार्मिक ढंगले प्रस्तुत गरिएको कारण यो चलचित्रलाई केवल मनोरञ्जनको माध्यम नभई समाजलाई सकारात्मक सन्देश दिने चलचित्रका रूपमा हेरिएको छ । धेरै दर्शकले हरेक विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकले अनिवार्य रूपमा हेर्नुपर्ने फिल्मका रूपमा ‘गुरु आमा’ लाई व्याख्या गरिरहेका छन् ।चलचित्रमा गुरु र विद्यार्थीबीचको आत्मीय सम्बन्ध, शिक्षाले व्यक्तिको जीवनमा पार्ने प्रभाव तथा समाज निर्माणमा शिक्षाको भूमिकालाई निकै संवेदनशील ढंगले प्रस्तुत गरिएको छ । यही विषयवस्तुले दर्शकलाई गहिरोसँग जोड्न सफल भएको देखिन्छ ।फिल्ममा मिथिला शर्मा शीर्ष भूमिकामा ‘गुरु आमा’को रूपमा देखिएकी छन् । उनको सशक्त अभिनयले दर्शकको मन जितिरहेको छ । साथै गौरी मल्ल, बुद्धि तामाङ र टीका सानु लगायतका कलाकारहरूको अभिनयले चलचित्रलाई अझ प्रभावशाली बनाएको छ ।

चलचित्रको कथाले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई जीवन जिउने कला सिकाउने माध्यम पनि हो भन्ने सन्देश दिन खोजेको छ । बालबालिका, अभिभावक तथा विद्यालय–कलेजमा अध्ययनरत विद्यार्थीहरूका लागि यो चलचित्र विशेष उपयोगी हुने अपेक्षा गरिएको छ ।निर्देशक प्रेम सोनी ले अन्य चलचित्रजस्तो केवल काल्पनिक कथाभन्दा फरक यथार्थपरक र समाज परिवर्तनतर्फ उन्मुख कथा प्रस्तुत गरिएको बताएका छन् । उनका अनुसार चलचित्रले बालबालिकालाई सही मार्गतर्फ डोर्याउने, सोच्ने शैली विकास गराउने तथा सही निर्णय लिन प्रेरित गर्ने उद्देश्य राखेको छ ।फिल्मप्रति दर्शकले देखाएको अपार माया र समर्थनले चलचित्र टिम निकै उत्साहित बनेको छ । लगातार हाउसफुल शो, दर्शकको सकारात्मक प्रतिक्रिया तथा भावुक वातावरणले ‘गुरु आमा’ यस वर्षको सबैभन्दा चर्चित र सन्देशमूलक नेपाली चलचित्रमध्ये एक बन्ने संकेत देखिएको छ ।





















