दयाहाङ राई र सौगात मल्ल को मुख्य अभिनय रहेको फिल्म ‘मितज्यू’ को ट्रेलर सार्वजनिक गरिएको छ । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलर सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत दर्शकमाझ ल्याइएको हो ।
सार्वजनिक ट्रेलरमा दयाहाङ राई र सौगात मल्ल गाउँमा नयाँ खुलेको सडकमा गाडी चलाउने चालकको भूमिकामा देखिएका छन् । मितेरी साइनो लगाएका उनीहरूबीच गहिरो मित्रता पनि छ भने प्रतिस्पर्धा पनि देखाइएको छ । यात्रु छिटो गन्तव्यमा पुर्याउने होड, गाउँले परिवेश, झगडा र भावनात्मक सम्बन्धलाई ट्रेलरले रोचक ढंगले प्रस्तुत गरेको छ ।ट्रेलरमा तेरिया मगर को गाउँले शैलीमा प्रस्तुत संवादले थप आकर्षण थपेको छ । साथै, मितेरी साइनोलाई सामान्य रूपमा नलिन ज्योतिषीले दिएको चेतावनीले कथामा रहस्य र द्वन्द्वको संकेत गरेको छ ।
निर्माण टिमका अनुसार फिल्मले नेपाली समाजमा कुनै समय निकै प्रचलित रहेको मितेरी साइनोको परम्परालाई मुख्य विषय बनाएको छ । ग्रामीण परिवेश, सम्बन्धको गहिराइ र सामाजिक भावनालाई समेटेर फिल्म निर्माण गरिएको बताइएको छ ।अनिल बुढा मगर को निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगरसँगै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा तथा अनु थापाको अभिनय रहेको छ ।यसै फिल्ममार्फत तेरिया मगर अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन् । फिल्ममा अभिनेत्री रुषा न्यौपाने को विशेष नृत्यसमेत समावेश गरिएको छ ।
आरआर फिल्म्स ले वितरण गर्ने फिल्म आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । निर्माण पक्षका अनुसार फिल्मको प्रदर्शन अधिकार हङकङ, जापान, दक्षिण कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा समेत बिक्री भइसकेको छ ।

तपाईको प्रतिक्रिया