लोकप्रिय गायक पशुपति शर्मा र गायिका राधिका हमाल को चर्चित गीत ‘क्याम्पस पढ्न आउनी’ पछि फेरि एकपटक नयाँ लोक दोहोरी ‘जुनकीरी’ सार्वजनिक भएको छ । कुनै समय नेपाली लोकसंगीत क्षेत्रमा रेकर्ड ब्रेक सफल भएको ‘क्याम्पस पढ्न आउनी’ पछि लामो अन्तरालमा यो चर्चित जोडी पुनः सहकार्यमा देखिएको हो । नयाँ गीत ‘जुनकीरी’ मा शब्द तथा संगीत स्वयं राधिका हमालको रहेको छ भने हुकलाइन लोकप्रिय गायक पशुपति शर्माले तयार पारेका हुन् ।
गीतलाई कृष्ण पुनले संगीत संयोजन गरेका छन् । नेपाली मौलिक बाजागाजाको सुन्दर प्रयोग गरिएको गीतमा ढोलक तथा तबलामा भुवन गन्धर्व, मादलमा खर्कबहादुर बुढा, सारङ्गीमा धर्म गन्धर्व, बाँसुरीमा गोपाल देव र सनाईमा बलबहादुर जैरुको कला सुन्न सकिन्छ ।त्यस्तै पुरुष कोरस भोकलमा मदन सफिक्स र महेश पुन मगर तथा महिला कोरसमा रुपी सिन्जाली र प्रेम थापाको साथ रहेको छ । लोकदोहोरीको मौलिक स्वाद र नेपाली गाउँघरको झल्कोले गीतलाई अझ विशेष बनाएको छ । राधिका हमाल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियो पक्ष पनि आकर्षक बनेको छ । भिडियो निर्देशन तथा कोरियोग्राफी स्मृति तिमिल्सिना ले गरेकी हुन् । भिडियोमा पशुपति शर्मा, राधिका हमाल, बबिन सिंह ठकुरी र सफल पुन मगरको अभिनय देख्न सकिन्छ ।राजेश घिमिरेको छायांकन रहेको भिडियो नविन घर्ती मगरले सम्पादन गरेका हुन् । गाउँघरको मौलिक परिवेश, प्रेम र नेपालीपनलाई समेटिएको ‘जुनकीरी’ ले दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।






















