आगामी वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र गुरु आमा यतिबेला दर्शकमाझ चर्चाको केन्द्रमा पुगेको छ। चलचित्रको टिजर र गीत सार्वजनिक भएसँगै यसको विषयवस्तु, सन्देश र प्रस्तुतिलाई लिएर सकारात्मक प्रतिक्रिया आउन थालेको हो।निर्देशक तथा निर्माता प्रेम सोनी सुनार को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको टिजर र गीतले चलचित्रप्रतिको उत्सुकता झनै बढाएको छ। सार्वजनिक दृश्यहरूले शिक्षा, अनुशासन र जीवनका महत्वपूर्ण निर्णयहरूबारे गहिरो सन्देश दिन खोजेको स्पष्ट देखिन्छ।

टिजर हेर्दा मात्र पनि दर्शक भावुक बन्ने अवस्था देखिन्छ। विशेषगरी गुरु र विद्यार्थीबीचको आत्मीय सम्बन्ध, शिक्षाले जीवनमा पार्ने प्रभाव तथा समाजमा यसको भूमिका जस्ता पक्षलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। यही कारणले पनि ‘गुरु आमा’लाई केवल मनोरञ्जनात्मक चलचित्र नभई सन्देशमूलक चलचित्रका रूपमा हेरिएको छ।चलचित्रमा शीर्ष भूमिकामा मिथिला शर्मा ‘गुरु आमा’को रूपमा देखिएकी छन्। उनको सशक्त अभिनयसँगै गौरी मल्ल, बुद्धि तामाङटीका सानु लगायतका कलाकारहरूको उपस्थिति रहेको छ। टिजरमा अधिकांश कलाकारहरूको झल्को देखिएकाले कथा बहुआयामिक ढंगले अघि बढ्ने अनुमान गरिएको छ।यसअघि चलचित्रका पोस्टरहरू पनि सार्वजनिक भइसकेका छन्, जसले दर्शकमा थप कौतुहलता सिर्जना गरेको थियो। निर्देशक सुनारका अनुसार चलचित्रको ट्रेलरसमेत छिट्टै सार्वजनिक गरिने तयारीमा रहेको छ।

‘गुरु आमा’ले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई जीवन जिउने कला पनि सिकाउने माध्यम हो भन्ने सन्देश दिन खोजेको छ। बालबालिका, अभिभावक तथा विद्यालय–कलेजमा अध्ययनरत विद्यार्थीहरूका लागि यो चलचित्र विशेष उपयोगी हुने अपेक्षा गरिएको छ।निर्देशक सुनारले अन्य चलचित्रहरूजस्तो केवल काल्पनिक कथा भन्दा फरक, यथार्थपरक र समाज परिवर्तनतर्फ उन्मुख कथा प्रस्तुत गरिएको दाबी गरेका छन्। उनका अनुसार चलचित्रले बालबालिकालाई सही मार्गतर्फ डोर्‍याउने, सोच्ने तरिका विकास गराउने तथा सही निर्णय लिन प्रेरित गर्ने उद्देश्य राखेको छ।यसैबीच, वैशाख २५ मा अन्य कुन चलचित्र प्रदर्शनमा आउँदै छन् भन्नेबारे स्पष्ट जानकारी नआए पनि ‘गुरु आमा’ भने देशभर प्रदर्शन हुने पक्का भइसकेको छ। टिजर र गीतले नै दर्शकको आँखामा आँसु ल्याउने अवस्था सिर्जना गरिसकेको अवस्थामा पूरा चलचित्रले कस्तो प्रभाव पार्ला भन्ने चासो दर्शकमाझ बढ्दो छ।समग्रमा, सामाजिक सन्देश बोकेको, गुरु–शिष्य सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘गुरु आमा’ यस वर्षको बहुप्रतिक्षित चलचित्रमध्ये एक बन्ने देखिएको छ।

तपाईको प्रतिक्रिया