नेपाली गीत–संगीत क्षेत्रमा फरक शैली र स्वादका सिर्जना प्रस्तुत गर्दै आएकी गायिका प्रीति आले पछिल्लो समय झन् चर्चाको शिखरमा पुगेकी छन्। मौलिकता र नयाँपनको कारण उनीप्रतिको दर्शक तथा श्रोताको आकर्षण दिनप्रतिदिन बढ्दो छ।देश तथा विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रमहरूमा समेत प्रीति आलेको माग उच्च रहँदै आएको छ। यही बीचमा उनले आफ्नै युट्युब च्यानलमार्फत ‘परान’ नामक नयाँ गीत सार्वजनिक गरेकी छन्। सार्वजनिक भएको छोटो समयमै गीतले दर्शकको ध्यान खिच्दै चर्चाको बाटो समातेको छ।
उक्त गीतमा शब्द, संगीत तथा आवाज स्वयं प्रीति आलेकै रहेको छ भने संगीत संयोजन राकेश सोनीले गरेका हुन्।गीतको भिडियो निर्देशन पनि प्रीति आलेकै रहेको छ। भिडियोमा कलाकार युमी बलामीको दमदार नृत्य प्रस्तुत गरिएको छ भने समूहका अन्य कलाकारहरूले पनि उत्तिकै मेहनत गरेका छन्, जसका कारण भिडियो आकर्षक र जीवन्त बनेको छ।कोरियोग्राफी थम्मन टाडी (टक्की)ले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र गणेश सापकोटाले गरेका छन्। सम्पादनको जिम्मेवारी नवीन घर्ती मगरले सम्हालेका छन्।नयाँ स्वाद र फरक प्रस्तुति लिएर आएको ‘परान’ गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।






















