फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस ले गोरखा निर्वाचन क्षेत्र नम्बर १ र २ का उम्मेदवारसँग काठमाडौंमा भेटघाट तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।कार्यक्रममा पार्टीका सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने महामन्त्री प्रदीप पौडेल विशिष्ट अतिथिका रूपमा उपस्थित रहनेछन्। कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार प्रेमकुमार खत्री र गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाशचन्द्र दवाडीको सहभागिता रहने जनाइएको छ।
![]()
फागुन २ गते दिउँसो २ बजे काठमाडौंको बुद्ध पार्टी प्यालेस मा आयोजना हुने उक्त कार्यक्रममा सभापति थापाले निर्वाचनको समसामयिक राजनीतिक सन्दर्भ, पार्टीको रणनीति तथा गोरखा केन्द्रित अभियानबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ।त्यसैगरी महामन्त्री पौडेलले निर्वाचन तयारी, संगठन सुदृढीकरण र मतदाता संवादलाई प्रभावकारी बनाउने विषयमा आफ्नो धारणा राख्ने बताइएको छ। आगामी निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीले गोरखामा जित सुनिश्चित गर्न सक्रियता बढाएको सन्दर्भमा यो कार्यक्रमलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।






















