देशमा चुनावी माहोल तातिरहेको बेला नेपाली कला–संगीत क्षेत्र भने आफ्नै सिर्जनात्मक यात्रामा व्यस्त देखिएको छ। यही क्रममा लोकप्रिय मोडल अनिल थापाले आफ्नै शब्द र संगीतमा तयार पारेको नयाँ गीत ‘घर त जनकपुर’ सार्वजनिक गरेका छन्।गीतमा चर्चित गायिका समीक्षा अधिकारी र गायक निशान भट्टराईको सुमधुर आवाज रहेको छ। शब्द र संगीत स्वयं मोडल अनिल ए.आर. थापाकै रहेको यो गीतको संगीत संयोजन दिनेश न्यौपानेले गरेका हुन्।गीतको भिडियोमा मोडल अनिल थापासँगै नायिका जहान्वी बस्नेत, दमन रुपाखेती र श्रीशक्ति बराइलीको सशक्त अभिनय देख्न सकिन्छ। कलाकारहरूको जीवन्त अभिनयका कारण गीत मात्र होइन, समग्र भिडियो पक्ष पनि प्रभावशाली बनेको छ।भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन बिनोद बामले गरेका छन्। नृत्य निर्देशन तथा भिडियो निर्देशन राहुल बराइलीको रहेको छ। अडियो तथा भिडियो ‘अनिल थापा म्युजिक’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

 

सर्लाहीको हरिवनमा जन्मिएका कलाकार अनिल थापा सानैदेखि नाचगानमा रुचि राख्दै आएका थिए। बाल्यकालदेखि नै स्थानीय कार्यक्रमहरूमा नाच्दै–गाउँदै हुर्किएका उनी राजधानी प्रवेश गरेपछि आफ्नो सपना पूरा गर्ने दिशामा निरन्तर अगाडि बढिरहेका छन्।हालसम्म दर्जनौँ म्युजिक भिडियोमा अभिनय तथा नृत्य गरिसकेका अनिल थापाको चर्चा पछिल्लो समय झनै चुलिँदै गएको छ। विशेष गरी गायक प्रमोद खरेलको आवाजमा रहेको चर्चित गीत ‘म छु आज रोडमा, तिमी करोडमा’ मा अभिनय गरेपछि उनले पछाडि फर्केर हेर्नु नपरेको बताइन्छ। त्यसपछि ‘दुखेको मन’, ‘पिलायो’ लगायतका गीतमार्फत उनले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्।मोडल मात्र नभई गायक र सर्जकका रूपमा पनि सक्रिय अनिल थापाले आफ्नै आवाजमा ‘म मरे पनि’, ‘राधा कृष्ण भजन’, ‘यो देशमा म जन्मन पाए’ जस्ता गीतहरूमा समेत स्वर दिइसकेका छन्। उनी गीत लेखन र संगीत सिर्जनामा पनि उत्तिकै सक्षम मानिन्छन्।यसै क्रममा गायिका समीक्षा अधिकारी र गायक निशान भट्टराईको आवाजमा सजिएको नयाँ गीत ‘घर त जनकपुर’ सार्वजनिक गर्दै अनिल थापाले आफ्नो बहुआयामिक प्रतिभालाई फेरि एकपटक प्रमाणित गरेका छन्। गीतले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

Ghar ta Janakpurr - Samikshya Adhikari | Nishan Bhattarai | Anil Thapa | Jahanwi Basnet | New Song

तपाईको प्रतिक्रिया