यही माघ १६ गतेदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘आबाट आमा’ ले दर्शकमा अत्यधिक भावनात्मक असर पारेपछि निर्माण टिमले सार्वजनिक रूपमा माफी मागेको छ । चलचित्र हेरेर कतिपय दर्शकलाई मानसिक समस्या समेत देखिएको दाबी गर्दै फिल्मका लेखक तथा निर्देशक चन्द्र पन्तले औपचारिक विज्ञप्ति जारी गर्दै दर्शकसँग क्षमायाचना गरेका हुन् ।विज्ञप्तिमा चलचित्रले दर्शकलाई रुवाउने, भावुक बनाउने मात्र नभई कतिपय दर्शक बेहोससमेत भएको, कोही बिरामी परेको र धेरैलाई मानसिक रूपमा निकै गाह्रो भएको सूचना आफूहरूले पाएको उल्लेख गरिएको छ । निर्देशक पन्तले विज्ञप्तिमा लेखेका छन्,“हाम्रो फिल्म हेरेर तपाईंहरू रुनुभयो, भक्कानिनुभयो र पुराना पीडाहरू सम्झेर मन दुखाउनुभयो । कतिपय दर्शकहरू फिल्म हेर्दा–हेर्दै बेहोस हुनुभएको, कोही बिरामी पर्नुभएको र धेरैलाई मानसिक रूपमा गाह्रो भएको खबर हामीले पायौं ।”उनले निर्माण टिमको उद्देश्य दर्शकलाई दुःख, पीडा वा मानसिक तनाव दिनु कदापि नभएको स्पष्ट पारेका छन् । यद्यपि, चलचित्रको कथा दर्शकको आफ्नै जीवनसँग अत्यन्तै नजिक हुँदा यस्तो अवस्था सिर्जना भएको हुन सक्ने उनको भनाइ छ ।

अमेरिकामा दैनिक १०० भन्दा बढी Shows, 'आ बाट आमा' January 30 देखि !

“जब फिल्मको कथा आफ्नै जीवनको कथा जस्तो लाग्छ, तब मन थाम्न गाह्रो हुँदो रहेछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।निर्देशक पन्तका अनुसार ‘आबाट आमा’को कथा बहुसंख्य नेपाली दर्शकको जीवन, संघर्ष र पीडासँग मिल्ने भएकाले दर्शक भावनात्मक रूपमा गहिरो रूपमा जोडिन पुगेका हुन् । विशेषगरी आमाको माया, त्याग र छोरासँगको सम्बन्धलाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको हुँदा दर्शकको मन छोएको उनको दाबी छ ।माघ १६ बाट प्रदर्शनमा आएको यो चलचित्र आमा–छोराबीचको संवेदनशील सम्बन्ध, संघर्ष र बलिदानको कथा मा आधारित छ । चलचित्रमा नायक पल शाह, नायिकाहरू उषा उप्रेती र सिम्रन पन्त शीर्ष भूमिकामा रहेका छन् । चलचित्र हेरेपछि हलबाट बाहिरिँदा धेरै दर्शकको आँखामा आँसु देखिएको, कतिपय दर्शक आमालाई सम्झिँदै भावुक बनेको दृश्य विभिन्न स्थानमा देखिएको थियो ।चलचित्र प्रदर्शनपछि सामाजिक सञ्जाल र मिडियामा पनि दर्शकको तीव्र प्रतिक्रिया देखिएको छ । कसैले चलचित्रले आफ्नै जीवनको कथा सम्झाइदिएको बताएका छन् भने कसैले आमाप्रति गरेको व्यवहार सम्झेर आत्मग्लानी भएको प्रतिक्रिया दिएका छन् । यही कारणले निर्माण टिमले दर्शकको भावनाको कदर गर्दै जिम्मेवार ढंगले माफी माग्नु परेको जनाएको छ ।निर्माण टिमको माफीलाई कतिपयले संवेदनशीलता र जिम्मेवारीको उदाहरण मानेका छन् भने केहीले चलचित्रले यति गहिरो प्रभाव पार्नु नै यसको सफलताको संकेत भएको प्रतिक्रिया दिएका छन् । जे भए पनि, ‘आबाट आमा’ ले नेपाली चलचित्रले दर्शकको मन, भावना र जीवनसँग कति गहिरो सम्बन्ध राख्न सक्छ भन्ने कुरा फेरि एकपटक प्रमाणित गरेको विश्लेषकहरूको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया