देशभर चुनावी माहोलले राजनीतिक तापक्रम चुलिएको समयमा नेपाली कलाकारहरू भने राजनीतिभन्दा टाढा आफ्नै सिर्जना, आफ्नै गीत–संगीतमार्फत दर्शक तथा श्रोतामाझ भावनात्मक सन्देश प्रवाह गरिरहेका छन्। यही सन्दर्भमा गायक अर्जुन गहतराज र गायिका सरिता सुनारको आवाजमा सजिएको मार्मिक गीत ‘पराइ मान्छे’ हालै सार्वजनिक भएको छ।गीत अर्जुन गहतराज अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जालदेखि टिकटकसम्म बिस्तारै चर्चा बटुल्दै गएको छ। गीतका शब्द, संगीत र भिडियोका दृश्यहरूले दर्शक–श्रोताको मन छोएको प्रतिक्रिया आइरहेका छन्। गीत हेर्दा र सुन्दा धेरैको आँखाबाट आँसु झर्ने गरेको प्रतिक्रिया सामाजिक सञ्जालमा देख्न सकिन्छ।

शब्द र दृश्यले रुवाउने ‘पराइ मान्छे’

गीत ‘पराइ मान्छे’ शब्द र दृश्य दुवै हिसाबले निकै मार्मिक बनेको छ। गीतमा प्रस्तुत कथा, भावनात्मक उतार–चढाव र कलाकारहरूको अभिनयले प्रेम, विश्वास र शंकाको गहिरो मनोविज्ञानलाई प्रस्तुत गरेको छ।
गीतले “आँखाले देखेको भरमा आफ्ना मान्छेमाथि शंका गर्नु हुँदैन” भन्ने गहिरो सन्देश दिन खोजेको देखिन्छ। ‘शंका गर्दा लंका जलाउँछ’ भन्ने उखानलाई जीवन्त रूपमा चित्रण गरिएको कथा दर्शकका लागि सोच्न बाध्य बनाउने खालको छ।

दोलखाबाट उदाएका गायक अर्जुन गहतराजदोलखामा जन्मिएका गायक अर्जुन गहतराज नेपाली कला क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सफल गायकका रूपमा परिचित छन्। सानैदेखि गीत–संगीतप्रति हुरुक्कै हुने अर्जुन सबै खालका गीत गाउन सक्ने बहुप्रतिभाशाली कलाकार मानिन्छन्।गीत ‘पराइ मान्छे’मा शब्द तथा संगीत स्वयं गायक अर्जुन गहतराजकै रहेको छ, जसले उनको सृजनात्मक क्षमतालाई थप पुष्टि गरेको छ।गीतमा गायिका सरिता सुनार र गायक अर्जुन गहतराजको स्वर सुन्न सकिन्छ। दुवै कलाकारको आवाज एक–अर्कासँग सुन्दर रूपमा घुलमिल भएको देखिन्छ। मिठो स्वर र भावनात्मक गायनका कारण गीत नेपाली श्रोताहरूले निकै मन पराइरहेका छन्। यही स्वर संयोजन नै गीतको मुख्य आकर्षण बनेको देखिन्छ।

No photo description available.

गीतको निर्देशन विशाल बरालले गरेका हुन्। भिडियोमा गायक अर्जुन गहतराज स्वयं र आश्‍मा कँडेल मुख्य भूमिकामा देखिएका छन्। सह–कलाकारका रूपमा सुबास अधिकारीसहदेव गिरीको अभिनय रहेको छ।
कलाकारहरूको मार्मिक र आँसु झर्ने अभिनयले गीत तथा भिडियोलाई अझ प्रभावशाली बनाएको छ।त्यसैगरी, बाल कलाकार उत्सव नेपालको अभिनयले समेत दर्शकलाई भावुक बनाउँछ। सानो उमेरमै प्रस्तुत गरिएको उनको स्वाभाविक अभिनय गीतको कथासँग पूर्ण रूपमा मेल खाएको देखिन्छ।भिडियोको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन मिन रावलको रहेको छ। प्राविधिक पक्ष मजबुत भएकाले भिडियो हेर्दा दर्शक कथामा सहजै डुब्न सक्ने अवस्था बनेको छ।सार्वजनिक भएको छोटो समयमै ‘पराइ मान्छे’ले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। सामाजिक सञ्जालमा धेरैले गीतको खुलेर प्रशंसा गरिरहेका छन्। कतिपय दर्शकले यो गीतले प्रेम र विश्वासको विषयमा गहिरो छाप छोड्ने बताएका छन्।राजनीतिक हलचलले भरिएको यो समयमा पनि नेपाली कलाकारहरूको सृजनशीलता रोकिएको छैन भन्ने उदाहरण बनेको छ गीत ‘पराइ मान्छे’। भावनात्मक कथा, सशक्त शब्द, मिठो संगीत र प्रभावशाली अभिनयका कारण यो गीतले नेपाली दर्शक तथा श्रोताको मनमा लामो समयसम्म बस्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया