तामाङ समुदायको मौलिक लोकसांगीतिक विधा म्हेन्दोमायामा आधारित नयाँ गीत ‘छन्ता परेको’ सार्वजनिक भएको छ। सुप्रसिद्ध गायक राजु लामा र रमला पाख्रिनको सुमधुर आवाजमा सजिएको उक्त गीत ल्होछारको अवसर पारेर माघ १ गते भिडियोसहित सार्वजनिक गरिएको हो।म्हेन्दोमाया तामाङ समुदायमा गाइँदै नाचिँदै प्रस्तुत गरिने एक अत्यन्तै लोकप्रिय लोक विधा हो। यो मौलिक भाका विशेषगरी ल्हप्सङकर्पो क्षेत्रका गाउँघरमा प्रचलित रहँदै आएको छ। राजधानीदेखि पश्चिमतर्फ बसोबास गर्ने तामाङ समुदायका परम्परागत भाकाहरू तामाङ पहिचान र सांस्कृतिक चिनारीका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छन्, जसमा म्हेन्दोमाया विशेष स्थानमा रहेको छ।
बागमती प्रदेश अन्तर्गत नुवाकोट, धादिङ र रसुवा जिल्लाका प्रायः सबै गाउँहरूमा म्हेन्दोमाया गीत सुन्न र नाचेको दृश्य सामान्य रूपमा देख्न सकिन्छ। बसाइँसराइसँगै यो भाका अन्य क्षेत्रहरूमा पनि फैलिँदै गएको छ भने आधुनिक प्रविधिबाट रेकर्ड गरिएका म्हेन्दोमाया गीतहरू अहिले अधिकांश तामाङ गाउँहरूमा सुनिन थालेका छन्।सार्वजनिक गरिएको गीत ‘छन्ता परेको’ को भिडियोमा बोन्पोहरू तिर्थ यात्रामा निस्कँदा र तिर्थ मेलामा म्हेन्दोमाया नाचिएको जीवन्त माहोल प्रस्तुत गरिएको छ। भिडियोमा कलाकार आरम्भ तामाङ, रञ्जिता तामाङ, रमेश तामाङ लगायतका साथै गायक राजु लामा स्वयंको अभिनय पनि देख्न सकिन्छ।

गीतको भिडियो छायांकन तथा सम्पादन पावन सुस्लिङले गरेका हुन् भने रोशन फ्युवाको निर्देशन रहेको छ। नृत्य निर्देशन प्रतिक ङेस्युरले गरेका छन्। रोशन फ्युवाकै शब्द र संगीतमा तयार भएको यस गीतको संगीत संयोजन दिपेश प्रधानले गरेका हुन्।मौलिक तामाङ संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित तयार गरिएको म्हेन्दोमाया गीत ‘छन्ता परेको’ ले दर्शक–श्रोताको मन जित्ने विश्वास लिइएको छ।























