नेपाली चलचित्र क्षेत्रमा गायक तथा संगीतकार टंक बुढाथोकीको नाम पछिल्लो समय सफल सर्जकका रूपमा स्थापित हुँदै गएको छ। संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय बुढाथोकीले चलचित्र निर्माणतर्फ पाइला चाल्दै बनाएको पहिलो चलचित्र ‘मन बिनाको धन’ ले करिब चार करोड रुपैयाँको हाराहारीमा व्यापार गर्दै उल्लेखनीय सफलता हासिल गरेको थियो। पहिलो प्रयासमै दर्शकको माया र विश्वास जित्न सफल भएपछि टंक बुढाथोकी अब दोस्रो चलचित्र निर्माणको तयारीमा जुटेका छन्।पहिलो चलचित्रको सफलतापछि टंक बुढाथोकीले नयाँ चलचित्र ‘बा-आमा’ निर्माण गर्ने घोषणा गरेका छन्। यो चलचित्रमा बालगायक अशोक दर्जी र टंक बुढाथोकीका छोरा एआर बुढाथोकी पुनः देखिने भएका छन्। ‘मन बिनाको धन’ मा सँगै देखिएका यी दुई कलाकारलाई दर्शकले रुचाएकाले ‘बा-आमा’ मा पनि उनीहरूलाई दोहोर्याउने निर्णय गरिएको बुढाथोकीले जानकारी दिएका छन्। अन्य कलाकारहरूको छनोट प्रक्रिया भने अझै बाँकी रहेको र चाँडै नै कलाकार छनोटको काम अगाडि बढाइने उनले बताएका छन्।

‘बा-आमा’ बनाउँदै टंक बुढाथोकी

चलचित्र ‘बा-आमा’ को शीर्षक नेपाल चलचित्र विकास बोर्डमा औपचारिक रूपमा दर्ता भइसकेको छ। टंक बुढाथोकीकै कथा रहने यस चलचित्रको पटकथा तथा संवाद लेखक शिवम् अधिकारीले लेखिरहेका छन्। बुढाथोकीका अनुसार चलचित्रको स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ। स्क्रिप्ट पूर्ण भएपछि कलाकार छनोट र प्राविधिक टिम निर्माणको कामलाई तीव्रता दिइने योजना रहेको उनले बताए।चलचित्र निर्माणको तयारीबारे बोल्दै टंक बुढाथोकीले भने, “स्क्रिप्ट लेखन लगभग अन्तिम चरणमा छ। अब केही साना परिमार्जनपछि कलाकार छनोटको चरणमा प्रवेश गर्नेछौं। सबै कुरा योजना अनुसार अघि बढे बैशाख महिनादेखि छायांकन सुरू गर्ने तयारी छ।” उनका अनुसार ‘बा-आमा’ चलचित्रलाई व्यवस्थित र गुणस्तरीय रूपमा निर्माण गर्ने लक्ष्य राखिएको छ।यो चलचित्र टंक बुढाथोकीको करिब पाँच वर्षअघि सार्वजनिक भएको सुपरहिट गीत ‘बा-आमा’ बाट प्रेरित हुनेछ। यसअघि उनले आफ्नो चर्चित गीत ‘मन बिनाको धन’ कै शीर्षकमा चलचित्र निर्माण गरेका थिए, जुन दर्शकमाझ निकै सफल भयो। सोही शैलीलाई निरन्तरता दिँदै टंकले फेरि पनि आफ्नै लोकप्रिय गीतको भावनालाई चलचित्रको कथामा रूपान्तरण गर्न लागेका हुन्।

‘बा-आमा’ चलचित्र पारिवारिक–सामाजिक कथामा आधारित रहने निर्माण पक्षले जनाएको छ। चलचित्रको कथा ‘बा-आमा’ गीतको भावनाबाटै सुरू हुने योजना छ, जहाँ आमाबुबाको माया, त्याग, संघर्ष र सन्तानप्रतिको निस्वार्थ प्रेमलाई केन्द्रमा राखिनेछ। पारिवारिक मूल्य, सामाजिक यथार्थ र भावनात्मक सम्बन्धलाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गर्ने उद्देश्य रहेको बताइएको छ।पहिलो चलचित्र ‘मन बिनाको धन’ लाई दर्शकले दिएको माया र प्रतिक्रियाबाट आफू निकै उत्साहित भएको टंक बुढाथोकी बताउँछन्। उनले भने, “पहिलो चलचित्रलाई दर्शकहरूले रुचाउनु भयो, त्यसका लागि म सबैप्रति आभारी छु। त्यस चलचित्रमा केही कमीकमजोरी पनि थिए, जुन मैले महसुस गरेको छु। ‘बा-आमा’ मा ती कमजोरी सुधार्दै अझ राम्रो, सशक्त र दर्शकलाई छुने चलचित्र बनाउने प्रयास रहनेछ।”संगीत, कथा र भावनाको संयोजनमार्फत दर्शकको मन जित्ने लक्ष्यसहित टंक बुढाथोकीले ‘बा-आमा’ चलचित्र निर्माण गर्न लागेका हुन्। सफल पहिलो चलचित्रपछि दोस्रो चलचित्रप्रति दर्शकको अपेक्षा पनि उच्च रहेको छ। अब ‘बा-आमा’ ले पनि ‘मन बिनाको धन’ जस्तै व्यावसायिक र कलात्मक सफलता हासिल गर्न सक्छ कि सक्दैन भन्ने विषयलाई लिएर नेपाली चलचित्र वृत्तमा चासो बढ्न थालेको छ।

तपाईको प्रतिक्रिया