फागुन १ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कल्ली’ को टिजर सार्वजनिक भएको छ। निर्माण पक्षले शनिबार एक कार्यक्रमबीच चलचित्रको टिजर सार्वजनिक गरेको हो।निर्माण प्रमुख सुरज आचार्य रहेको चलचित्र ‘कल्ली’ को टिजरले मानिसभित्र लुकेको देवता र राक्षसबीचको द्वन्द्वलाई केन्द्रमा राखेको छ। मानिसले आफ्नै मनभित्रको देवतालाई मारेर राक्षसलाई निम्त्याएपछि समाज र जीवनमा उत्पन्न हुने जटिल परिस्थितिलाई टिजरमार्फत संकेत गरिएको छ। टिजरले मनोवैज्ञानिक र गहिरो कथावस्तुको झल्को दिन्छ।
टिजरको अन्तिम दृश्यमा नायिका परिक्षा लिम्बु देखिन्छिन्। चलचित्रमा उनी ‘सरप्राइज प्याकेज’ को रूपमा प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ, जसले दर्शकमा थप कौतूहल जगाएको छ।किरण नेपालीको निर्माणमा तयार भएको चलचित्रलाई लक्ष्मण सुनार ले निर्देशन गरेका हुन्। सुनारकै कथामा आधारित चलचित्रको पटकथा तथा संवाद महेश दवाडी ले लेखेका छन्।चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरलगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।मनोवैज्ञानिक थ्रिलर स्वादको कथा बोकेको चलचित्र ‘कल्ली’ ले समाज, मनोविज्ञान र मानवीय स्वभावका गहिरा पाटोलाई पर्दामा कसरी प्रस्तुत गर्छ भन्ने विषयमा दर्शक र फिल्मकर्मीको चासो बढ्दै गएको छ।























