आउँदो माघ १ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘गोबर गणेश’ ले आफ्नै शीर्ष गीत सार्वजनिक गर्दै दर्शकमाझ फरक स्वाद र सन्देश दिन खोजेको छ। हास्यप्रधान कथावस्तुमा आधारित यस चलचित्रको शीर्ष गीत ‘गोबर गणेश’ रमाइलो, क्याची र अर्थपूर्ण शैलीमा प्रस्तुत गरिएको छ, जसले हाँसोभित्र लुकेको गम्भीर सामाजिक यथार्थलाई उजागर गर्ने प्रयास गरेको देखिन्छ।गीतमा निर्देशक स्वयं मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) को स्वर सुन्न सकिन्छ भने गीतका शब्द तथा संगीत चर्चित स्रष्टा बाबुल गिरी को रहेको छ। गीतले बाहिरी रूपमा सबै कुरामा सक्षम देखिने तर पढाइमा कमजोर व्यक्तिले भोग्नुपर्ने आत्मविश्वासको कमी, सोचाइमा आउने प्रभाव र समाज तथा साथीभाइसँगको सम्बन्धमा पर्ने असरलाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरेको छ।

गीतको शब्द, संगीत र भिडियो प्रस्तुतिले चलचित्रको कमेडी बेसलाई स्पष्ट बनाएको छ। तर, केवल हाँसोमा सीमित नरहेर पढाइ कमजोर हुँदा व्यक्ति समाजको नजरमा कसरी कमजोर ठहरिन्छ भन्ने यथार्थ पक्षलाई पनि गीतले उठान गरेको छ। यस अर्थमा, ‘गोबर गणेश’ को शीर्ष गीतले मनोरञ्जनसँगै सशक्त सन्देश दिन खोजेको प्रस्ट हुन्छ।

गम्भीर विष्ट को कोरियोग्राफी रहेको गीतको भिडियोमा मरिचमान श्रेष्ठ केन्द्रमा देखिएका छन्। उनीसँगै नायिका वर्षा शिवाकोटी र कलाकार निर्मल शर्मा को उपस्थिति उल्लेख्य छ। भिडियोले चलचित्रको कथा, पात्र र प्रस्तुति शैलीको झल्को दिँदै दर्शकमा थप उत्सुकता पैदा गरेको छ।मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को निर्देशनमा बनेको चलचित्र ‘गोबर गणेश’ छायांकन सकेर हाल पोस्ट–प्रोडक्सन चरणमा रहेको छ। बल्छी धुर्वे फिल्म्स को प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा मरिचमान र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछाने लगायत कलाकारको अभिनय रहेको छ।

...

चलचित्रको प्राविधिक पक्ष पनि सबल देखिन्छ। तारानाथ न्यौपाने चिफ एडी, योगेश काजी शाह को बीजीएम, शंकर पाण्डे को प्रोडक्सन, शिवराम श्रेष्ठ को डीओपी र विपीन मल्ल को सम्पादन रहेको छ। टौवा स्टुडियो को पब्लिसिटी डिजाइन रहेको चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने नेपालभित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्ट ले गर्नेछ।

हास्य र सन्देशको संयोजनसहित दर्शकमाझ आउन लागेको चलचित्र ‘गोबर गणेश’ ले माघ १ गतेदेखि सिनेमा हलमा कस्तो प्रभाव छोड्ला भन्ने प्रतीक्षा चुलिँदो छ।

तपाईको प्रतिक्रिया