लोकप्रिय गायक रमेश पाठकको नयाँ प्रेमिल गीत ‘तिम्रै माया छ’ सार्वजनिक भएसँगै नेपाली संगीत बजारमा चर्चा चुलिएको छ। गीतमा देखाइएको नायक रोशन श्रेष्ठ र अभिनेत्री शिला गजुरेलको रोमान्टिक अभिनयले दर्शकको मन जित्न सफल भएको छ। प्रेम, भावना र सौन्दर्यको सन्तुलित प्रस्तुतिले गीतको भिडियो दर्शकमाझ आकर्षणको केन्द्र बनेको छ।गायक रमेश पाठककै शब्द र संगीत रहेको यस गीतमा दिनेश न्यौपानेको संगीत संयोजनले गीतलाई थप सशक्त बनाएको छ। मिठासपूर्ण शब्द, मन छुने संगीत र भावुक स्वरको संयोजनले ‘तिम्रै माया छ’ लाई श्रोतामाझ विशेष बनाएको देखिन्छ। गीत हालसालै एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।
गीत सार्वजनिक कार्यक्रममा नृत्य निर्देशक गोविन्द प्रभात, निर्देशक पवन केसी, गायिका मञ्जु लावती अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि डा. बरालले गीतको खुलेर प्रशंसा गर्नुभयो। उहाँले गीतमा शब्द, संगीत र स्वरको उत्कृष्ट संयोजन रहेको उल्लेख गर्दै यस्तो गुणस्तरीय सिर्जनाले नेपाली संगीतलाई अझ समृद्ध बनाउने धारणा राख्नुभयो।कार्यक्रममा उपस्थित धेरै संगीतकर्मी तथा दर्शकले संगीत जति उत्कृष्ट छ, भिडियो पनि त्यत्तिकै सशक्त र प्रभावशाली बनेको प्रतिक्रिया दिएका थिए। गीतको कथा, दृश्य संरचना र कलाकारको अभिनयले दर्शकलाई भावनात्मक रूपमा बाँध्न सफल भएको उनीहरूको भनाइ थियो। यस अवसरमा गायक रमेश पाठकसहित सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।गायक रमेश पाठकले गीत सार्वजनिक कार्यक्रममा बोल्दै सबैको सामूहिक प्रयासबाट एउटा राम्रो गीतको भिडियो श्रोता तथा दर्शकमाझ ल्याउन सफल भएको बताउनुभयो। उहाँले गीतलाई माया गर्ने सम्पूर्ण दर्शकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै स्तरका सिर्जना ल्याउने प्रतिबद्धता जनाउनुभयो।कृष्ण रसालको निर्देशनमा बनेको यस म्युजिक भिडियोमा शिला गजुरेल र रोशन श्रेष्ठलाई मुख्य भूमिकामा फिचरिङ गरिएको छ। उनीहरूको केमेस्ट्री, भाव अभिव्यक्ति र स्वाभाविक अभिनयले गीतलाई जीवन्त बनाएको छ। साथै भिडियोमा जितेन्द्र महर्जनको पनि अभिनय रहेको छ, जसले कथालाई थप मजबुत बनाएको छ।

वासु बरालको सिनेमाटोग्राफीले भिडियोको दृश्य पक्षलाई आकर्षक बनाएको छ भने राकेश दाहालको दृश्य सम्पादन र कलर संयोजनले भिडियोको सौन्दर्य अझ निखारेको छ। दृश्य, रंग र फ्रेमको तालमेलले गीतको भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सहयोग पुर्याएको देखिन्छ।‘तिम्रै माया छ’ गीतको भिडियो रमेश पाठक अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै गीतले श्रोतादर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदै गएको छ। प्रेमिल गीत मन पराउने दर्शकका लागि ‘तिम्रै माया छ’ एक यादगार सिर्जना बन्ने अपेक्षा गरिएको छ।






















