राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले पत्रकार तथा सञ्चारकर्मीहरुको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित दुईदिने विशेष प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। लोक सञ्चारकर्मी नेपाल केन्द्रीय समितिको आयोजनामा पुस २ र ३ गते सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय स्थल सुकुटे बीचमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न हुने भएको हो।उक्त प्रशिक्षण कार्यक्रममा वरिष्ठ साहित्यकार डा. नवराज लम्साल र वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले प्रशिक्षण प्रदान गर्ने कार्यक्रम तय भएको छ। प्रशिक्षण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी कार्यक्रम संयोजक तथा लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष हरिप्रसाद दुलालले दिएका छन्।

प्रशिक्षणमा लोक सञ्चारकर्मी नेपालका केन्द्रीय पदाधिकारी, उपत्यका तथा देशभरका विभिन्न शाखा र सम्बद्ध संस्थामा आवद्ध पदाधिकारीहरुको उल्लेखनीय सहभागिता रहनेछ। साथै, नेपालका विभिन्न सञ्चार माध्यमका सञ्चालकहरुको पनि सहभागिता रहने गरी कार्यक्रमको रूपरेखा तय गरिएको संयोजक दुलालले जानकारी दिए।कार्यक्रमलाई ऐतिहासिक, उपलब्धिमूलक तथा वृहत् बनाउन विशेष तयारी गरिएको बताउँदै संयोजक दुलालले नेपाली मौलिक लोक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा संवर्द्धनमा पत्रकार र सञ्चारकर्मीले खेल्नुपर्ने भूमिकामाथि गहन छलफल र बहस हुने बताए। लोक संस्कृति जोगाउने सवालमा सञ्चार माध्यमको जिम्मेवारी र योगदानबारे समेत प्रशिक्षणमा विशेष जोड दिइने जनाइएको छ। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले यस्ता प्रशिक्षण कार्यक्रममार्फत पत्रकारितालाई जिम्मेवार, सशक्त र संस्कृतिमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ।






















