काठमाडौं। बहुप्रतिक्षित नेपाली सिनेमा ‘गोबर गणेश’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। साना पर्दामा ‘सिरियल निर्देशन गर्ने केटो’ भनेर चिनिएका मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले यो फिल्ममार्फत निर्देशन यात्रा थप मजबुत बनाउँदै ठूलो पर्दामा आफ्नो दमदार उपस्थिति जनाउने भएका छन्।आगामी माघ १ गते रिलिज हुने फिल्मको सार्वजनिक फर्स्टलुकले चर्चामा रहेको ‘कस्तो फिल्म बनाउँला?’ भन्ने प्रश्नको जवाफ दिँदै दर्शक–समीक्षकलाई उत्साहित बनाएको छ।

पोस्टरमा अभिनेत्री वर्षा शिवाकोटी रिक्साको ह्याण्डल समातेर मुस्कानसहित अगाडि बढिरहेकी देखिन्छिन् भने अभिनेता बल्छी धुर्बे सोही रिक्सामा बसेर रमाइरहेका छन्। उनीहरू दुवैको खुसी मुद्राले फिल्मले बोकेको हास्य–मनोरञ्जन र भावनात्मक पाटोको संकेत गर्छ। रिक्सामा देखिएका फोहोरका सामग्रीका कारण उनीहरू नगरपालिकाका फोहोर व्यवस्थापन कर्मचारीको भूमिकामा रहेको अनुमान बलियो भएको छ।मरिचमान श्रेष्ठको निर्देशनमा बनेको फिल्मको छायांकन पूरा भइसकेको छ र अहिले पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको निर्माण टिमले जनाएको छ।

बल्छी धुर्बे फिल्म्सको ब्यानरमा निर्माण भएको यस परियोजनामा वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, सन्तोष बानियालगायत लोकप्रिय कलाकारहरूको दमदार अभिनय समावेश छ।फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहनेछ भने वितरणको जिम्मा श्री ब्याकटेस इन्टरटेनमेन्टले लिनेछ।फर्स्टलुक सार्वजनिकसँगै ‘गोबर गणेश’ पछिल्लो समय चर्चाको मुख्य केन्द्र बनेको छ। दर्शकहरूले सामाजिक सञ्जालमा फिल्मप्रति ठूलो उत्साह देखाइरहेका छन्, जसले गर्दा माघ १ मा हुने फिल्मको प्रदर्शन अझै प्रतीक्षित बनेको छ।






















