मौलिक गीतका ‘किङ’ मौसम गुरुङ सुन्दर बजार सांस्कृतिक महोत्सव–२०८२ मा सम्मानित | लमजुङ, सुन्दर बजार — मौलिक गीतका किङ उपनामले पहिचान बनाएका लोकप्रिय गायक मौसम गुरुङ सुन्दर बजार सांस्कृतिक महोत्सव–२०८२ मा सम्मानित भएका छन्। सम्मान ग्रहण गर्दै उनले सम्पूर्ण सुन्दरबजार तमु समाजप्रति हृदयदेखि आभार व्यक्त गरे।दर्जनौँ लोक तथा दोहोरी गीतमार्फत नेपाली लोकसंगीतमा छुट्टै स्थान बनाइसकेका गायक मौसमलाई संगीतकर्मी र दर्शकहरूले खासगरी कौडा, झ्याउरेसालैजो शैलीका गीतबाट चिन्ने गर्छन्। गोरखा, गण्डकी गाउँपालिका–४ फुजेलमा जन्मेका गुरुङले नेपाली गीत–संगीतसँगै गुरुङ फिल्म र जापानी चलचित्रमा समेत अभिनय गरेर आफ्नो कलाको दायरा फराकिलो बनाएका छन्। निरन्तर मौलिकता जोगाउँदै आएका उनी हराउँदै गएको लुंगी, दौरा–सुरुवाल, सारी, गुन्यूचोली जस्ता परम्परागत पहिरनको संरक्षणमा विशेष जोड दिन्छन्।

No photo description available.

“बजारमा भड्किला र उत्शृंखल पहिरनका भिडियो बढ्दै गए। तर, हाम्रो मौलिक पहिचान सजाएको लुंगी, गुन्यूचोली, दौरा–सुरुवाल जस्ता पहिरन ओझेल परिरहे,” मौसम भन्छन्— “सिर्जनामा मौलिक संस्कृतिलाई प्राथमिकता दिनु आजको आवश्यकता हो।”मौसम गुरुङले अहिलेसम्म करिब २०० वटा गीत रेकर्ड गरिसकेका छन्। उनका गीतहरू फरक–फरक विधामा आधारित भए पनि सबैमा आफ्नै समुदाय र विभिन्न क्षेत्रको मौलिक रङ्ग झल्किन्छ।
उनका झ्याउरे, कौडा र सालैजो गीतका भिडियोमा प्रयोग गरिएका गुरुङ समुदायका पारम्परिक पोशाक अहिले धेरै युवाको रोजाइमा परिरहेका छन्। “भिडियो हेरेर चेलीबेटीहरूले त्यही पहिरन खोज्न थालेको सुन्दा गर्व लाग्छ,” उनी मुस्कुराउँदै भने।

संगीतसँगै पर्यटन व्यवसायमा सक्रिय रहेका गुरुङका करिब दुई दर्जन नयाँ गीत निर्माणको अन्तिम चरणमा छन्। यी गीत पनि सालैजो, कौडा, झ्याउरे तथा गुरुङ संस्कृतिमा आधारित हुने उनी बताउँछन्।
स्थानीय संस्कृति, भाषा र पहिचानलाई गीत–संगीतमार्फत विश्वभरि परिचित गराउन प्रतिबद्ध गुरुङलाई सुन्दर बजार महोत्सवमा गरिएको सम्मानले कलाकारिता र मौलिकताको यात्रामा थप ऊर्जा दिएको छ।

तपाईको प्रतिक्रिया