काठमाडौँ — दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भई हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा पुगेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘परिवर्तन’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको उक्त पोस्टरले चलचित्रप्रति दर्शकको जिज्ञासा थप उकास्ने संकेत दिएको छ। पोस्टरमार्फत प्रमुख पात्रहरूको क्यारेक्टर लुक्स पहिलोपटक स्पष्ट रूपमा प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथावस्तु र माहोललाई थप रोचक बनाएको छ।

पोस्टरमा अभिनेता सुशील श्रेष्ठलाई पूर्ण एक्सन अवतारमा देखाइएको छ। रगताम्य घाइते अवस्थामा पनि उनी युद्धको मैदानबीच बन्दुक सिध्याएर उभिएका छन्, जसले उनको पात्र ‘परिवर्तन’का लागि सर्वस्व अर्पण गर्न तयार योद्धाका रूपमा छुने संकेत दिन्छ। उनको अभिव्यक्ति, शरीर भाषा र एक्सन मुद्रा फिल्मले समेटेको संघर्ष र प्रतिशोधको भावनालाई झनै बलियो बनाएको छ।
यस पटक अञ्जना बराईली प्रहरी इन्स्पेक्टरको कडा र निर्भीक भूमिकामा देखिएकी छन्। पोस्टरमा उनी कठोर, निर्णयशील र न्यायका लागि कुनै पनि हदसम्म जान तयार अधिकारीका रूपमा प्रस्तुत छन्। त्यसैगरी, कलाकार सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे लगायतलाई पनि उनी–उनीहरूको क्यारेक्टरानुसार प्रतिनिधित्व गर्ने शैलीमा पोस्टरमा उतारिएको छ, जसले चलचित्रको पात्र संरचना निकै दमदार र विविधता भएको संकेत गर्दछ।
एक्सन–सस्पेन्स जनरामा निर्माण गरिएको चलचित्रलाई विजय केरुङ्गले निर्देशन गरेका छन्। चलचित्रको कथा तथा निर्माण दीपक सिवाकोटीको रहेको छ भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्। निर्माणपक्षका अनुसार फिल्मले सामाजिक संरचना, व्यक्तिगत परिवर्तन, न्याय र बदला जस्ता संवेदनशील तथा रोचक विषयलाई कथाको केन्द्रमा राखेर प्रस्तुत गरेको छ।
चलचित्र ‘परिवर्तन’ आगामी माघ ९ गतेदेखि देशभर प्रदर्शनमा आउन तयारी अवस्थामा छ। पोस्टर सार्वजनिकसँगै निर्माण टिमले छायांकन, अभिनय र एक्सन डिजाइनमा नयाँ स्वाद दिने विश्वास व्यक्त गरेको छ। दर्शकले नेपाली एक्सन सिनेमामा नयाँ प्रयोगका साथ आएको यस फिल्मबाट ठूलो आशा राखेको देखिन्छ।






















