नेपाली चलचित्र ‘पीआर’ ले विदेशमा आफ्नो लोकप्रियता प्रमाणित गरिदिएको छ। मंसिर २६ गते नेपालभर प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म अष्ट्रेलिया र न्युजल्याण्डमा भने प्रदर्शनअघि नै सोल्डआउट भएको छ। अष्ट्रेलिया–न्युजल्याण्ड क्षेत्रका लागि फिल्मको प्रदर्शन अधिकार मि. श्रेष्ठ प्रोपाइत्री लिमिटेड र श्रेष्ठ फ्यासिलिटी म्यानेज्मेन्ट कम्पनीले संयुक्त रूपमा खरिद गरेका छन्। कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठका अनुसार फिल्मको विषयवस्तु, सामाजिक सन्देश र पछिल्लो समय दर्शकमाझ देखिएको उत्साह नै उक्त क्षेत्रका लागि फिल्म लिनुका मुख्य आधार बनेका छन्।श्रेष्ठका अनुसार अष्ट्रेलियामा आयोजित विशेष शोहरूले पनि फिल्मप्रति दर्शकको आकर्षण झन् बढाइएको छ। विभिन्न सहरमा सम्पन्न शोहरूमा सहभागी दर्शकहरूले फिल्मको कथा, निर्देशन, कलाकारको अभिनय र निर्माण पक्षको खुलेर प्रशंसा गरेका थिए। सकारात्मक प्रतिक्रिया र उच्च टिकट मागका कारण नियमित शोहरूको अधिकांश मिति प्रदर्शनअघि नै बुक भइसकेको बताइएको छ।

शोभित बस्नेतको निर्देशन, स्टारकास्ट दमदार
चलचित्रलाई कुशल निर्देशक शोभित बस्नेतले निर्देशन गरेका हुन्। फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलले मुख्य भूमिका निभाएका छन्।त्यस्तै, नेपाली फिल्म क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. नेपाल र दिक्पाल कार्की विशेष भूमिकामा देखिनेछन्, जसले फिल्मको दमदार प्रस्तुति अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
अष्ट्रेलियामैबाट चलिरहेको प्रमोसन
निर्देशक बस्नेत हाल अष्ट्रेलियामै रहेर फिल्मको प्रमोशन र प्रदर्शन तयारीमा तिव्र रूपमा सक्रिय छन्। त्यहाँ नेपाली समुदायले देखाएको रुचि र समर्थनले उनलाई उत्साहित बनाएको बताइन्छ।
प्राविधिक पक्ष पनि सुदृढ
फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका छन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहाल लगानीकर्ता छन्।
फिल्ममा
-
सम्पादन : बन्दे प्रसाद
-
लेखन : गणेश बुढाथोकी
-
छायांकन : सौरभ सायमी र सौरभ लामा
-
संगीत : मानस राज
-
स्वर : सनुप पौडेल र नीतु पुन
-
नृत्य निर्देशन : रामजी लामिछाने
समेटिएको छ।
‘पीआर’ सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको हो भने नेपालमा आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ।
समाजका संवेदनशील विषय समेटिएको कथा
फिल्ममा नेपाली समाजमा बढ्दै गएको माइग्रेशन, परिवारिक सम्बन्ध, स्वदेश–विदेशको जीवन, व्यक्तिगत संघर्ष र सामाजिक यथार्थलाई कथाको मूलधार बनाइएको बताइन्छ। यिनै कारण विदेशी नेपाली समुदायमा फिल्मले उच्च रुचि पाएको निर्माताको दाबी छ। नेपालमा मंसिर २६ गतेबाट प्रदर्शनमा आउँदै गरेको ‘पीआर’ले विदेशमा देखाएको सफलता नेपालमा पनि दोहोर्याउने उद्योगसँगै दर्शकमा उत्सुकता बढिरहेको छ।






















