अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्को शहरमा आयोजित प्रतिष्ठित ‘सान फ्रान्सिस्को इन्टरनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’ मा नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले उत्कृष्ट कथानक फिल्म (Best Narrative Feature Film) को अवार्ड जित्दै नेपाली फिल्म क्षेत्रको गौरव बढाएको छ।विश्वभरिबाट चयन भएका ११८ वटा फिल्महरू मध्ये नेपाली चलचित्रले उत्कृष्टताको परिचय दिंदै यो सम्मान हासिल गरेको हो। चलचित्रका निर्माता तथा निर्देशक मित्र प्रधान (नर) ले अवार्ड ग्रहण गर्दै भने, “अमेरिकाजस्तो ठुलो अन्तर्राष्ट्रिय मञ्चमा नेपाली चलचित्रले उत्कृष्ट कथानक फिल्मको अवार्ड पाउनु आफैंमा गर्वको विषय हो। यो नेपाली फिल्म उद्योगका लागि पनि ठूलो प्रेरणा हो।” उनले आफ्नो कथा र मेहनत मन पराइदिने सम्पूर्ण निर्णायक मण्डल (जुरी) लाई धन्यवाद ज्ञापन गरे।

यसअघि पनि यो चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरिसकेको छ। बेलायतमा सम्पन्न ‘मिल्टन किन्स इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ मा पनि ‘यो मन त मेरो नेपाली हो’ ले उत्कृष्ट सिनेमाटोग्राफी (Best Cinematography) को अवार्ड जितेको थियो। उक्त फिल्मका छायाकार सौरभ लामा हुन्।पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रा.लि. को ब्यानरमा तयार भएको यस चलचित्रका प्रस्तुतकर्ता मित्र प्रधान (नर) र निर्माता ज्ञान बहादुर प्रधान (रोशन) हुन्। फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री”, बिजिता परियार लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ।

फिल्ममा शिवम् अधिकारी को लेखन, सौरभ लामा को छायाङ्कन, देव महर्जन को द्वन्द्व, समिर मिया को भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारी को कोरियोग्राफी, बनिश शाह को सम्पादन तथा सिजिआई सत्यम राना को रहेको छ।अन्तर्राष्ट्रिय स्तरमा लगातार सफलता पाइरहेको यस चलचित्रले नेपाली फिल्म उद्योगको क्षमता र सिर्जनात्मकतामा विश्वभरका दर्शक र समीक्षकको ध्यान तानेको छ।

 नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ — देशको नाम उज्यालो पार्दै विश्व मञ्चमा निरन्तर सफलता तर्फ।

तपाईको प्रतिक्रिया