काठमाडौं — शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएका दुई बहुप्रतिक्षित नेपाली फिल्म — ‘मन बिनाको धन’ र ‘जारी २’ — बीचको प्रतिस्पर्धामा अहिले दर्शकको मन जित्न सफल भएको देखिन्छ ‘मन बिनाको धन’।पहिलो दिनसम्म दुवै चलचित्रको बराबरी चर्चा चलेको भए पनि दोस्रो दिनको बक्स अफिस र दर्शक प्रतिक्रियाले भने ‘मन बिनाको धन’लाई अग्रस्थानमा पुर्याएको छ।राजधानीदेखि पहाडी शहरसम्म, सबैजसो हलमा ‘मन बिनाको धन’ हाउसफुल भइरहेको छ। बिहानैदेखि टिकट काउन्टरमा दर्शकको लाम लागेको छ। फिल्म हेरेर बाहिरिने धेरै दर्शकहरूको आँखामा आँसु र अनुहारमा उत्साह देखिएको छ।

दर्शकहरू भन्छन् —
“अब नेपाली चलचित्रको जमिनमा नयाँ पालुवाहरू उम्रनै पर्छ, बुढो रुखले अब सितल दिन सक्दैन।”
यही कथन अहिले सामाजिक सञ्जालदेखि हलसम्म गुञ्जिएको छ।
अशोक दर्जीको भावनात्मक अभिनय, टंक बुढाथोकीको सशक्त संगीत, र निर्देशकको संवेदनशील कथानकले दर्शकलाई भित्रसम्म छोएको छ। ‘मन बिनाको धन’ को कथा, संवाद र गीतले धेरैको मन हल्लाएको छ।अर्कोतर्फ, ‘जारी २’ मा विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, र मानहाङ लावतीजस्ता चर्चित कलाकारहरूको दमदार अभिनय देखिए पनि दर्शकको आकर्षण भने अहिले अशोक दर्जीको फिल्मतिर झुकेको छ।देशभरका वितरक र हल संचालकहरूका अनुसार, ‘मन बिनाको धन’ को टिकट माग अत्यधिक बढेको छ, र केही हलमा दर्शक नअटाएपछि अतिरिक्त शो समेत राखिएको छ।

फिल्मका प्रमुख कलाकार अशोक दर्जीले दर्शकको माया र उत्साह देखेर आफू भावुक भएको बताएका छन्। उनका अनुसार—“यो चलचित्र केवल कथा होइन, हरेक नेपालीको भावनासँग जोडिएको यात्रा हो।”सामाजिक सञ्जालमा पनि ‘मन बिनाको धन’का दृश्य र गीतहरू भाइरल भइरहेका छन्। धेरै दर्शकहरूले फिल्म हेरेपछि “मन बिनाको धन ठुलो कि धन बिनाको मन?” भन्दै मन छुने टिप्पणी गरेका छन्।
यसरी, नेपाली चलचित्र उद्योगमा लामो समयपछि यति व्यापक उत्साह र प्रतिस्पर्धा देखिएको छ। तर अहिलेको संकेत स्पष्ट छ —
‘मन बिनाको धन’ ले ‘जारी २’ लाई पछाडि पार्दै नयाँ इतिहास रच्दैछ।






















