काठमाडौं– यही कार्तिक २१ गते शुक्रबारदेखि प्रदर्शनमा आउँदै गरेको बहुप्रतिक्षित नेपाली फिल्म ‘मन बिनाको धन’ ले रिलिजअघि नै दर्शकको उत्साह र जिज्ञासा निकै बढाएको छ। टिकट बुकिङ सुरु भएलगत्तै हलहरूमा लामो लाइन लाग्न थालेको छ भने सामाजिक सञ्जालमा समेत यो चलचित्रको चर्चा दिनप्रतिदिन चुलिँदो छ।चलचित्र जाँच पास समितिबाट ‘यूनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेसँगै अब यो फिल्म सबै उमेर समूहका दर्शकले सहजै हेर्न पाउने भएका छन्। सेन्सर बोर्डका सदस्यहरूले फिल्मको विषयवस्तु, कथा र सन्देशको खुलेर प्रशंसा गर्दै यसलाई ‘सकारात्मक र सन्देशमूलक नेपाली चलचित्र’ भनेका छन्। उनीहरूले फिल्मको व्यवसायिक सफलता र दर्शकको मन जित्ने शुभकामनासमेत दिएका छन्।
फिल्मका निर्देशक टंक बुढाथोकी का अनुसार ट्रेलरबाट आएको उत्साहजनक प्रतिक्रियाले निर्माण टिममा थप ऊर्जा थपेको छ। उनले भने, “दर्शकको माया नै हाम्रो प्रेरणा हो, ‘मन बिनाको धन’ ले समाजमा एक सकारात्मक सन्देश दिनेछ भन्ने विश्वास छ।”फिल्मको ट्रेलर युट्युबमा १० लाखभन्दा बढी पटक हेरिसकिएको छ। प्रचार–प्रसारका सामग्रीहरूले दर्शकबीच उत्साह जगाएको कारण फिल्मले देशभर सुखद ओपनिङ गर्ने अपेक्षा निर्माण टिमले गरेको छ।

यस फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, विना राउत, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल र विजय डंगोल लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ।फिल्मको कथा अशोक दर्जीकै वास्तविक जीवन नजिकको घटनामा आधारित छ। एक समय बाटोमा गीत गाएर गुजारा चलाउने अशोकको जीवनलाई टंक बुढाथोकीले ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीतमार्फत परिवर्तनको बाटोमा अघि बढाएका थिए। अहिले अशोक काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् र फिल्मले उनको जीवन संघर्ष र सफलता दुवैलाई सजीव रूपमा प्रस्तुत गरेको छ।
फिल्मको कथा निर्देशक टंक बुढाथोकी आफैंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारी ले तयार पारेका हुन्। टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बनेको यस चलचित्रको निर्माण विष्णुमाया मैनाली ले गरेकी हुन्। कार्यकारी निर्माताको जिम्मेवारी सपना शर्मा (सपना) ले वहन गरेकी छन् भने जीपी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सह–निर्माताका रूपमा रहेका छन्।फिल्ममा टिकाराम बुढाथोकी क्रियटिभ निर्देशक, सौरभ लामा छायाकार, कविराज गहतराज र रामजी लामिछाने कोरियोग्राफर, मित्र डी गुरुङ सम्पादक र नवराज शर्मा मुख्य सहायक निर्देशकको रूपमा रहेका छन्। संगीत निर्देशकका रूपमा स्वयं टंक बुढाथोकीकै सिर्जना रहेको छ।

फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनी ले देशभर वितरण गर्दैछन्।
दर्शक र समीक्षक दुबैको ध्यान खिच्न सफल यो चलचित्रले नेपाली फिल्म क्षेत्रमा नयाँ ऊर्जा र प्रेरणा भर्ने अपेक्षा गरिएको छ।






















